
रहर कि लहर हो, नदी सरसफाई अभियान ?
बागमती नदी सरसफाई अभियानल २८८ औँ हप्तामा आईपुग्दा देशैभर नदी नाला, टोल सरसफाईको लहर चलेको छ । विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने मानिसहरुको सक्रिय सहभागितासगैँ अभियानमा महत्व दर्शाएको छ । सरसफाईका काम भए, ठोस फोहरमा कमी पनि आएको छ । नदीमा मिसिएका तरल फोहर व्यवस्थापन र लुकिछिपी फोहर फ्याक्ने काम बन्द भएका छैनन् । ईको समाचारको टोलीले नदी सरसफाईमा सक्रिय सहभागिता जनाउदै आउनुभएका अभियन्ता रुद्र पौडेलसगँ नदी सरसफाईका लहर, प्रभाव, परिवर्तन र आगामी बाटो कसरी तय हुन्छ भन्ने विषयमा सोधेका थियौँ । हामी उहासगँ गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गर्दैछौ ।
नदी सरसफाईका अभियान चलिरहेको अवस्थामा हनुमन्ते खोलापनि शुरु गर्नुभयो । यो रहर कि लहर, कहिले सम्म चल्छ ?
धन्यवाद प्रश्नका लागि । मेरो विचारमा प्रत्येक नागरिक आफु र आफ्नाका लागि बाचेकै हुन्छ । तर सामान्य रुपमा सोच्ने हो भनेपनि पृथ्वीमा सामाजिक प्राणी भएर जन्मेपछि क्षमता अनुसारको सामाजिक कर्तव्य पनि हुन्छ । म समाजप्रतिको दायित्वबोध भएर यहाँ आएको छु । अब नदी सरसफाई अभियान बागमतीमा आएको सकारात्मक परिवर्तनले पनि लहरका रुपमा चलेको छन् जुन अत्यन्त सकारात्मक हुन् । यस अभियानका केहि पात्र वा संस्था रहरका रुपमापनि आउनुभयो होला तर काम र प्रचार जे जे गरेपनि अभियान त चलेकै छ । हामीले शुरु गरेको अभियान नदी पूर्ण रुपमा सफा नभएसम्म चलिरहेन्छ ।
यी नदीहरु कहिले सम्म सफा भईसक्ला भन्ने प्रश्न गरेभने जवाफ के होला ?
हेर्नुस यो प्रश्नको जवाफ हामीले कम तर त्यस नदीमा जथाभावी फोहर फ्याल्नेहरुलाई सोध्नुपर्छ जस्तो लाग्छ । यो अभियान भन्दापनि नियमित प्रक्रिया हो । हामी निरन्तर रुपमा गरिरहेका छौँ । बागमती, मनहरा, हनुमन्ते लगायत देशैभर लहर चलेको छ तर यसमा हामी सबैको व्यवहार र संस्कार सुधार नआएसम्म पूर्ण सफल हुन सकिदैन । जथाभावी लुकेर फोहर फ्याल्ने संस्कार हटाउने र मनोहरा र हनुमन्ते खोलामा सरसफाई गर्न ९ वटा समुह मार्फत सरसफाई अभियान चलाईरहेका छौँ । अब रणनीति परिवर्तन गरेर अगाडी बढ्नुपर्छ ।
नदी सरसफाईमा संलग्न हुनेहरुको मनोविज्ञान बढी प्रचारमुखी भयो भन्ने आरोप छ ?
सरसफाई र प्रचारमुखी दुई भिन्न कुरा हुन् । मेरो व्यक्ति सन्र्दभमा भन्नुहुन्छ भने मानिस भएर पृथ्वीमा आएपछि समाजका लागि आफुले सक्ने काम गनुपर्छ भन्ने सोचे र बागमती नदी सरसफाई अभियानमा संलग्न रहे । हामीले के बुझ्यौ भन्दा बागमती मात्र सफा गरेर हुदैन त्यसमा हनुमन्ते र मनोहरा नदीका फोहर पनि व्यवस्थापन तर्फ लाग्यौँ । अहिले निकै उत्साहका साथ नागरिकको सहयोग र उपस्थिती रहेको छ । प्रचारले नै गर्दा हामी यहाँसम्म आएका हौँ । म सबैलाई पहिला काम अनि प्रचार गर्न आग्रह गर्छु ।
स्थानीय सरकारसगँ अधिकार छ, फोहर मैला व्यवस्थापन ऐन २०६८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्पष्ट रुपमा व्यवस्था गरिएको छ र पनि कार्यान्वयन खोई ?
तपाईले चित्रण गरेको स्थिती नाजुक र विडम्बनाको हो । अधिकार ऐन दुवै छ तर कार्यान्वयन गर्न जनप्रतिनिधिलाई सहयोग त गरिरहेका छौँ । व्यक्तिले ऐनलाई भन्दापनि ऐनले व्यक्तिलाई निर्देश दिएको अवस्था हो । सबैमा ईच्छा शक्तिको कमि छ । व्यक्तिले फोहर नफाल्ने वातावरण र संस्कार बसाउदै जथाभावी फोहर फ्याल्नेलाई कडा कारवाही गनुपर्ने हुन्छ । स्वभाविक रुपमा ऐन नीति नियममा व्यवस्था त छ तर त्यसको अक्षरंस पालना गर्नु आवश्यक छ । स्थानीय सरकार, सामाजिक संघ सस्था, नागरिक सबैमा साझा अठोटको साथ सहकार्य गरे कानुन अनुरुप व्यवहारमा लागु गर्न सकिन्छ ।
टाढाका अभियन्ता त आए तर स्थानीयवासीहरुलाई सहभागी गराउन सक्नु भएन भन्छन् नि ?
मलाई पनि त्यस्तो लाग्छ तर विगतमा भन्दा स्थानीयवासीहरुको सहभागिता र सक्रियता बढेको छ । सबै नागरिकहरु दृढ संकल्पका साथ लाग्नु भएको छ । फरक दल र आस्था भएका मानिसहरुलाई पनि वातावरण जस्तो विषयमा एक भएर काम गर्दै संमृद्ध र सुन्दर भक्तपुर बनाउन आव्हान गर्छु । प्रदुषणको मार र शिकारमा सबैजना पर्ने भएको हँुदा यसमा सचेत हुन अनुरोध गर्दछु । फोहर व्यवस्थापनको क्षेत्रमा सबैको प्रयास र परिश्रम आवाश्यक भएकोले संख्यात्मक र गुणात्मक वृद्धिका लागि आउनुहोस् सहकार्य गरौँ।