img2
अध्ययन रसायनशास्त्रमा स्नातकोत्तर, काम सफाईवाला समाजसेवा

कुनै समय थियो कि मानिसहरु यसरी पनि सोच्थे, वातावरणका कुरा संस्थाले गर्ने, सफाइका काम साना ओहदाका व्यक्तिले गर्ने अनि नागरिकले गरेको फोहर सरकारी निकायले सफा गर्नुपर्ने । नदी सफाइ मात्र होईन्, समाज र राष्ट्रप्रतिको दायित्वबोधले देशका ९० भन्दा बढी स्थानमा सफाइका लहर चलेका छन् ।  समयले धेरै कुरालाई परिवर्तित गर्दै लगेको अवस्थामा म फोहर टिप्छु र यो समाजका विभिन्न क्षेत्र सफा गर्छु भन्दा गर्वका साथ शानले भन्न सक्ने वातावरण बन्यो ।


टोल, समुदाय, सडक, नदी किनारका सफाईमा त अभ्यस्त थियौँ र छौँ पनि तर राजमार्ग सफाई गनुपर्छ भन्दा तपाईलाई अपत्यारिलो लाग्न सक्छ । सिराहमा जन्मेर औपचारिक शिक्षा रसायनशास्त्रमा स्नातकोत्तर तह अध्ययन गर्नु भएका धिरेन्द्र कुमार शाह राजमार्गसहित विभिन्न सफाईका काम गर्न सकिन्छ भनेर निरन्तर सफाई कर्ममा हुनुहुन्छ । ईको समाचारले त्यो उत्साह वा बहुलठपन कसरी आयो र कहिले बन्छ सफा र सुन्दर नेपाल भन्ने विषयमा उहासगँ गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ  ।


समयले मानिसलाई धेरै व्यक्तिवादी बनाईरहदा तपाईको कस्तो पृष्ठभूमि वा के कारणले राजमार्ग सफाईमा प्रेरित गर्यो  ?

समयले त मानिसलाई धेरै भूमिका र जिम्मेवारीमा चित्रण गरेकै हुन्छ । म सिराहा जिल्लाको प्रतिनिधित्व गर्ने पात्र हुँ । कृषक आमा बुबाको छोराओरीको वाल्यकाल औसतमै बित्छ जुन हामी सबैलाई थाहै छ । औपचारिक शिक्षाका सवालमा  ललित नारायण मिथिला विश्वविद्यालयमा विज्ञान संकाय अन्र्तगत रसायनशास्त्रमा स्नातकोत्तर गरेको छु । सरसफाईका सन्र्दभमा तत्कालिन समयको प्रमुख जिल्ला अधिकारी बिजानारायण मानन्धर  र नेपाल प्रहरीका  एसपी श्याम ज्ञवालीले सफाइको उद्देश्य राखेर भेला आयोजना गर्नुभयो र ततपश्चात हामी केहि साथीहरु यसमा संलग्न भयौँ ।


सफाइमा त लागियो तर के गर्नुभयो अहिले सम्म भनेर सोध्यौ भने ?
सफाइमा लागेको कुरा त सबैलाई जानकारीनै छ । हामीले के गर्यौ भन्दापनि अहिलेसम्म के भयो भनेर हेरिदिन आग्रह गर्दछु । करिब तीन वर्षको समय व्यतित गर्दा हामी सिराहा सफाइको २१३ औँ हप्तामा आईपुगेका छौँ । हामीले सिराहालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेका  छौँ । अहिले चितवन क्यान्सर अस्पताल सरसफाई अभियान, लालबन्दी क्षेत्रको राजमार्ग सफाई, जनकपुर रेल्वे ट्रयाक, वर्दिवास सफाई संचालन गरिरहेका छौँ । हामी खुला सिमानामा बस्ने भएकाले वारी मात्र सफा भएर हुदैन भनेर छिमेकी देशको जयनगर क्षेत्रमा पनि सफाई अभियान चलाईरहेका छौँ ।


फोहरको सफाई भन्दापनि फोहर गर्नुहुन्न भन्ने संस्कार विकास गनुपर्ने होईन ?
हो तर संस्कार अब शिक्षा दिएर, पाठ पढाएर, नियम बनाएर भन्दापनि जसले फोहर गर्छ उसलाईनै सफा गर्न लगाउने हो भने त्यौ स्थायी ज्ञान बन्न सक्छ । राजमार्ग सफाईको सोचपनि पारिवारिक यात्राका क्रममा सडकको फोहर टिप्न बच्चाहरुलाई गरेको आग्रहले सम्भव भएको हो । अहिले करिब ९  किलो मिटर सडक सफा भएको छ भने धेरै यात्रु, स्थानीयवासी, विद्यार्थी  र नागरिक समाजलाई यसबारे सचेतना गराउने काम भएको छ । संस्कार विस्तारै निर्माण हुदै गईरहेको छ । विद्यार्थी तथा क्रियाशिल संघ संस्थाको संलग्नताले पनि अव सफाई गर्नुपर्छ भन्ने सोच आउनुल सफलता मिल्छ भन्नेमा विश्वस्त छु ।


यात्रुले राजमार्ग फालेका फोहर टिपिरहने कि फोहर झ्यालबाट नफाल्न आग्रह गर्ने ?
यो दुवै अवधारणालाई हामीले निरन्तरता दिएका छौँ । हामी समुदाय, ट्राफिक प्रहरी तथा सरोकारवालाहरुसगँ सहकार्य गरेर काम गरिरहेका छौ । फालिएका फोहर टिप्ने र जनचेतना फैलाउने काम निरन्तर भईरहेको छ । अहिले धेरै सार्वजनिक यातायातका जिम्मेवार व्यक्तिलाई खुला शौच नगर्न, जथाभावी फोहर नफाल्न समेत सम्झाईरहेका छौँ ।


कहिले सकिन्छ फोहर अनि बन्छ सफा र सुन्दर नेपाल ?
फोहर आफैमा सकिने कुरा होईन । यसको उत्पादन प्राकृतिक हो तर सहि व्यवस्थापन गर्ने दायित्वचाहि हाम्रो हो । मानिसको दैनिकिसगैँ फोहर उत्पादन भईरहेका हुन्छन् । हिजोका दिनमा हामीले कहाँ कमरी फाल्यौ त्यतातिर नजाऔँ तर अवका दिनमा फोहरको सहि व्यवस्थापनमा सबै मिलि काम गरौँ । शुरुका समयमा धेरैलाई अपत्यारिलो लाग्न सक्छ  तर समय कुर्नुस त्यो सफा र सुन्दर नेपाल छिट्टै बन्छ । तपाई वाग्मती नदीको उदाहरण हेर्नुस मात्र ६ वर्षको समयमा कस्तो स्वरुप कस्तो बन्यो आखिर सम्भव त रहेछ  । संसारकै नियम के हो भने सकारात्मक काम गर्न समय, परिश्रम र धैर्यता चाहिन्छ ।


अभियान चलाउनुहुन्छ तर के कमाउनुहुन्छ ?
सरसफाइमा लागेर कुनै भौतिक कुरा वा पैसा कमाउने गरेको भए तपाईको प्रश्न मलाई अलि सजिलो हुन्थ्यो । सफा बन्नुपर्छ भन्ने चेतना विस्तार गर्दा सकारात्मक सन्देश प्रवाह गर्दा अनि सफाईका लाग्दाको आत्मसन्तुष्टि जुन छ त्ससको कुनै मापन वा मूल्य निर्धारण हुदैन । मैले के कमाए भनेर हेर्नचाहनु हुन्छ भने सिराहा आउनुहोस् त्यहाको स्वरुप परिवर्तन र नागरिकको अपेक्षा देखाउने छौँ ।


हप्तामा एक दिन सफाइ, ६ दिन फोहर अनि कसरी बन्छ सुन्दर नेपाल भन्छन् नागरिक ?
सफाइ अभियानलाई सस्तो कार्यक्रम भनेर टिप्पणी गर्नेको जमात थियो तर अहिले सफाई भएसगैँ टिप्पणी गर्न छाडेका छन् । अव सफाइ गर्ने पनि हामी मध्येकै हौँ अनि फोहर गर्ने पनि उस्तै छौँ । फोहर किन भयो भन्दापनि कसले गर्यो भन्नेमा ध्यान दिनु आवश्यक छ । अहिले सरकारका विभिन्न निकायहरु सफाइ अभियानमा ईच्छुक देखिनुलेपनि सुधारको संकेत गरेको छ । सफाइ निरन्तर प्रक्रिया भएकाले यसमा सबैले समय मिलाएर सहभागी भए सफा नेपाल छिट्टै बन्छ ।


नागरिकको सहभागिता र स्थानीय सरकारको सक्रियता कहिले पूर्ण रुपमा अनुभुती गर्न पाईन्छ ?
धेरै मानिस र सरकारका प्रतिनिधिलाई पनि सफाइ गर्नुपर्छ भन्ने सोच विकास भएको छ । हिजोसम्म जथाभावी फोहर फाल्ने मानिस अहिले हिचकिचाउन थालेका छन् । समाजका सबै वर्ग र विशेषगरि युवापुस्ताको सक्रियता अनवश्यक छ । समाजमा फोहर उठाउने काम साना मानिसको भन्दापनि साना सोच भएका मानिसले गरेका हुन् । जुन जुन स्थानमा सफाइ अभियान चलेको छ त्यहाँ स्थानीयवासीको पनि सहभागिता भएमा उपलब्धी निश्चित छ । अहिले सामाजिक संजाल मार्फत पनि प्रेरणा आदान प्रदान गर्न सकेका छौँ ।  हामी सबैले के बुझनु छ भने फोहर व्यवस्थापनको काम साना ,अनपढ र पिछडिएका नागरिकले गर्ने भन्ने होईन् यस्तो प्राविधिक पक्षमा पढेका समाज बुझेका मानिस आएमा सफलता छिटो मिल्छ भन्नेमा विश्वास लिएको छु ।


सफाइ फेशन कि सामाजिक काम ?
यो निस्वार्थ भावनाले गरिने सामाजिक काम हो । अहिले काठमाडौमा चलेको वाग्मती नदी सफाइ अभियानले ३०० औँ हप्ता मनाउदाको माहोल हेर्नुहोस् त । नेपाल सरकारका चार जना मन्त्रीको उपस्थिती  र विचारले नयाँ प्रेरणा लिएको छ । फोहर नटिप्ने तर फोटो मात्र खिच्नेलाई चाहि यो फेसन मात्र बन्न सक्ला । म यस संचारमाध्यम मार्फत आग्रह गर्छु कि सफाइ अभियानमा जहिले जहाँ मिल्छ त्यहा सहभागी हुनुहोस् । प्रत्येक नागरिकको सहयोगविना सुन्दर नेपाल सम्भव छैन त्यसैले पनि सबै एक जुट हुनु आवश्यक छ ।


अभियन्ता धिरेन्द्र कुमार शाहसगँ गरिएको कुराकानीको सम्पादित अंश ।  

 

 
 

Give Us Feedback