img2
"वेलकम टु डस्टमाडौँ" सर !

विजय हितान
फोक्सटोन, केन्ट, युके                                                                                                                                                                                                                                                                                                 गत नोभेम्बरमा काठमाडौँ ओर्लेर फेसबुकमा एउटा स्टाटस टाँसेँ, ’लामो हवाई यात्रापश्चात म सुरक्षित काठमाडौँ अवतरण गरेँ ।’ मास्क लगाएर ट्याक्सीमा घरतिर हुइँकिँदै थिएँ, एकजना मित्रले कमेन्ट गरे, ‘वेलकम टु डस्टमाडौँ सर ।’ हुन पनि हो, ट्याक्सीको झ्यालबाट बाहिरको वातावरण धुलाम्मे र धुवाले
भरिएको देखिन्थ्यो ।
 
काठमाडौँ वासीहरू अन्य समस्याभन्दा धुलो र धुँवाका वातावरणीय समस्याहरू ले सबैभन्दा बढी चिन्तित रहेको नागरिकको मतले पनि  देखाउँछ । अहिले धुलोका कण नाप्ने यन्त्रहरू जडान गरिएका छन् । तिनका दैनिक तथ्याङ्क वातावरण विभागको वेभसाइट तथा एप्समा हेर्न मिल्छ । काठमाडौ उपत्यकाको प्रदुषणका समाचार रेडियो टेलिभिजनले पनि तापक्रमजस्तै वायुमण्डलमा धुलोका सूक्ष्म कणको मात्रा केकति छ भनेर प्रकाशन तथा प्रसारण गर्छन् । आफूले स्वास लिने वायुमण्डलमा धुलोको मात्रा सुरक्षित मापदण्डभन्दा कैयौँ गुणा बढी भएको सुनेपछि मानिसहरू तर्सिने नै भए । विश्व स्वस्थ्य संगठनको मापदण्ड भन्दा वायुको गुणस्तर निकै खस्किएको छ । अनि धेरैले आक्रोश, विरोध अनि पीडा मिसाएर  काठमाडौँलाई डस्टमाडौँ भनेर नामाकरण गर्ने गर्छन् ।

काठमाडौँको वातावरण र वातावरणीय तत्वका गुणस्तर खस्कदै गर्दापनि सरकारले त्यति चासो नदेखाएकोजस्तो अनुभुती हुन्छ ।
वातावरणीय तत्व हावा, पानी जमिन सबै प्रदुषित रहदाँ नागरिकले विभिन्न स्वास्थ्य समस्या झेल्न बाध्य भएका छन् ।

नागरिकको चेतना र मेहेनतले गर्दा वाग्मती नदी सफाइ अभियानले आशिंक सफलता पाएपनि नदीमा मिसाईएको तरल फोहर र ढल व्यवस्थापनमा खासै सुधार भएको छैन । यस विषयमा सर्वसाधारण पनि त्यति सचेत भएको पाईदैन जसकारण धार्मिक, ऐतिहासिक अनि पर्यावरणीय महत्वको वाग्मतीलाई ढलमतीको संज्ञा दिइएको छ ।

उपत्यकाबासीका घर, रेष्टुरेन्ट, होटेल, अस्पताल तथा औद्योगिक क्षेत्रबाट उत्पन्न हुने फोहोर पानी विनाप्रशोधन खुल्ला ढलहरू भएर वाग्मतीमा मिसाइन्छ । कति त भूमिगत जलभण्डारमा मिसिन जान्छ । यसको सबैभन्दा ठूलो असर दुर्गन्ध हो अनि प्रदूषण पनि । यसबाट भाइरस, ब्याक्टेरियाजस्ता जिवाणु उत्पन्न हुन्छन् र नागरिकको स्वास्थ्य र पर्यावरणलाई असर पारिरहेका हुन्छन्।
नदी किनारमा अस्थायी रुपमा बसेका नागरिकले सहि रुपमा फोहर तथा शौच व्यवस्थापन नगर्दा समस्या झन् बिकराल बन्दै गईरहेको छ ।  नदी किनारमा सफाइ अभियान चलेका छन्, पार्क तथा उद्यान निर्माण भईरहेका चन् तर नदीमा बग्ने पानीको गुणस्तर अत्यन्त प्रदुषित बनेको छ ।
बाग्मतीको  प्रदूषित पानी पिउन लायक नभएपनि कतिले लुगा तथा भाँडाकुँडा धुने, सिँचाइ गर्ने, घर बनाउने आदि काममा प्रयोग गर्न बाध्य छन् । उपत्यकाको दैनिक माग रहेको २० करोड लिटर पानीमा उपलब्धता हुन सकेको छैन ।  ।
शिवरात्री लगायत विभिन्न चाडपर्वमा पशुपति क्षेत्रमा तिर्थालुको भिड हुदाँ वाग्मती नदीको पानीले जलसिन्चन गरेर शुद्ध हुने चलन रहेको छ । मानिस शुद्ध गर्ने पानी आफैँ कत्ति शुद्ध छ भन्ने सोचेकै छैनन् ।  

धेरै मानिसले वाग्मतीको पानी घरमा लगेर अरू लाई पनि पिलाउँछन् । तर त्यो पानी दुर्गन्धित छ, नुहाउन र पिउन हानिकारक छ भनेर कसले भन्ने र यसले मानिसको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव अथाह छ ।
मानिस मात्रै होइन, गाईभैँसी, चराचुरुङ्गी र वन्यजन्तुमा समेत पर्न गएको प्रतिकूल असर सहजै अनुमान लगाउन सकिन्छ ।

वाग्मतीको इको सिस्टममा पर्न गएको असर अझै विकराल हुनसक्छ । यस नदीले काठमाडौँ वासीलाई प्रदान गर्ने पारिस्थितिक सेवा अमूल्य छ । पानीमा पाइने जैवीक प्राणी माछा तथा अन्य जलचरमा पर्न गएको प्रदूषणको असरप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी देखिन्छ । सन्तुलित परिस्थितिका हिसाबले त वाग्मती मृत अवस्थामै छ भन्दापनि  हुन्छ । मानिसलाई रोग लागे उपचार गरिन्छ । प्रदूषणबाट असर पर्नेहरू लाई प्रदूषकले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था कानुनले गरेको छ । तर ती जलचर जो हाम्रा क्रियाकलापले फन्दामा परेका छन्, कसले न्याय दिने ,कसले तिनको वासस्थानलाई जोगाएर राखिदिने भन्ने प्रशनको जवाफ समयले हामी प्रत्येक नागरिकसगँ मागिरहेको छ । वाग्मती नदीको इकोसिस्टम बचाउन जनता अनि सरकार गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

प्रत्येक शनिवार वा अन्य समयमा साप्ताहिक रूपमा हातले फोहोर झिकेर फाल्ने अभियानले वाग्मती पूरै सफा हुनेवाला छैन । मान्दछु यसले जनचेतना ल्याइरहेको छ तर दीर्घकालीन समाधान भनेको ढल सञ्जालको विस्तार र प्रशोधन केन्द्रहरू को निर्माण नै हो । यसबाट वातावरणीय तथा रासायनिक प्रशोधनबनट तरल पदार्थलाई नदीनालामा मिसाइन्छ । तर यस्तो संरचनाको जडान अनि व्यवस्थापन खर्चिलो, प्राविधिक हिसाबले वैज्ञानिक र जटिल विषय हो । नेपाल स्वयम् आफैँले गर्न नसक्ने भएकाले बेलायतको मोडल पनि एउटा राम्रो विकल्व बन्न सक्छ । तसर्थ वेलायतको अवधारणा भित्र्याउन सल्लाह दिन्छु म ।
 
कस्तो छ बेलायती मोडेल ?

बेलायतको वातावरणीय कानुनअनुसार नदीनालालाई जानेर होस् या नजानेर प्रदूषित पार्नु अपराध हो । बेलायतका घरमा एउटा नालाबाट पिउने पानी वितरण गरिन्छ भने किचन तथा चर्पीबाट निस्कने फोहोर पानीलाई अर्को नालाबाट प्रशोधन केन्द्रतिर पठाइन्छ । अनि बिओडी, एमोनिया, सिओडी, धमिलोपनाजस्ता तत्वहरू निर्धारित मापदण्डभित्र पारेर मात्रै प्रशोधित पानीलाई जमिन, नदीनाला या समुद्रमा फालिन्छ । पिउने पानीको शुल्क त तिर्नुपर्छ नै, ढलबाट पठाइएको फोहोर पानीको शुल्क पनि तिर्नुपर्ने हुन्छ । फोहोर पानीको शुल्कवापत उठाइएको पैसा ढल व्यवस्थापनमा खर्च गरिन्छ । यस्ता संरचना गैरसरकारी कम्पनीहरू लाई सञ्चालन गर्न दिइएको हुन्छ । बेलायतको ढल व्यवस्थापन भिक्टोरियन युगदेखि नै सुरु भएको हो र यहाँको ढल इन्जिनियरिङ विश्वमै अनुकरणीय छ ।

अब प्रश्न उठ्ला, बेलायती मोडल कसरी भित्र्याउने रु यसका लागि सर्वप्रथम सम्बन्धित निकायले सरकारी स्तरमा छलफल चलाउनुपर्छ । बेलायतको वातावरण मन्त्रालयसँग कुरा उठाउन सकिन्छ । दुई तीन सय गोरखाली सिपाही दिँदा हामीलाई यस सम्बन्धिका दुई चार जना विज्ञहरू देऊ भनेर बेलायत सरकारसामु अनुरोध गर्न सकिन्छ । नेपाली राजदूतावास बेलायत, एनआरएन र बेलायतमा बस्दै आएका यस क्षेत्रका विज्ञ नेपालीहरूले यसको पहल गरिदिन सक्छन् । कुनै निचोडमा पुगियो भने विद्यार्थीहरू लाई वातावरण विषय पढ्न बेलायती विश्वविद्यालयमा छात्रवृत्ति, वातावरण विभागका कर्मचारी, विषय विज्ञ साटासाट र तिनीहरू को बेलायतमा तालिम, प्रशिक्षण, सिप विकास गोष्ठीजस्ताकार्यक्रममा सहभागी गराउन  सकिन्छ । फोहोरमैलाको विसर्जन तथा प्रशोधनको व्यवस्थापन सरकारले नगरिदिने तर जनतालाई फोहोर नफाल, सरसफाइ गर भनेर मात्रै कहाँ हुन्छ र  यस्ता संरचनाको उचित व्यवस्था मिलाउनु सरकारको पनि कर्तव्य हो ।

नेपालमा सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिएको छ । नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई नदी सफाइका बारेमा पर्याप्त जानकारी दिएर सुधारका विकल्पबारे व्यापकरुपमा छलफल चलाउन सकिन्छ । विभिन्न देशबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगलाई हाम्रो देशको अवस्था सुहाउदो प्रविधि र ढाचाँ अनुशरण गरेर लागु गर्न सकिन्छ ।


वाग्मतीमा मिसिएको ढल व्यवस्थापन नगरि र प्रदूषणका  गम्भीर पर्यावरणीय दुःखहरू गर्भमा लुकाएर विदेशीहरू का सामु काठमाडौँलाई स्मार्ट सिटी बनाउने चर्चा र मेट्रोपोलिटन सिटी भन्न लाज लाग्छ । सरकारी योजनाको पानी जहाज, रेल भित्रिएला तर फोहर व्यवस्थापनको काम, फोहोर पानी प्रशोधन केन्द्रहरू र ल्यान्डफिलको सुविधा नहुँदासम्म काठमाडौँलाई स्मार्ट सिटीको पगरी भिराइहल्नुपर्ने अवस्था छँदैछैन ।

 वातावरण सुधारका यस्ता दिगो योजनाहरू ल्याएर निकट भविष्यमा छिट्टै कार्यान्यन नगरिँदासम्म डस्टमाडौँ र वाग्मतीको अवस्था झनै बिग्रेर जानेछ । यस्तो अवस्थामा यी पर्यायवाची शब्दहरू सुनिरहँन कोहि पनि जिम्मेवार नेपालीलाई सहज अनुभुती हुदैन । त्यसैले काठमाडौ लगायतको नेपालको वातावरण र पर्यावरण संरक्षण गर्न सबैको संयुक्त प्रयास र परिश्रम आवश्यक रहेको छ ।    

( लेखक वातावरण विज्ञानमा स्नातकोत्तर गरेर बेलायतको वातावरण विभागमा कार्यरत हुनुहुन्छ ।)

 

 

Give Us Feedback