img2
महानगरले किन किन्न सक्दैन कन्टेनर ?

फोहर व्यवस्थापन सरकार र नागरिकको चासो भएपनि सुधार हुन सकिरहेको छैन ।  विहानभर सडक किनारमा जथाभावी फोहर फाल्ने र कर्मचारीले उठाएर सवारी साधनमा लोड गर्न कार्य दैनिकि बनेको छ । काठमाडौको न्युरोड, त्रिपरेश्वर, कालीमाटाी लगायतका चोकमा फोहर व्यवस्थापनको विजोग देख्न पाईन्छ । घर, व्यवसाय, होटल तथा विभिन्न कार्यलयबाट सडकका चोक चोकमा फोहर फालिन्छ र त्यहि संकलनकर्ताले फेरि कुहिने नकुहिनेलाई छनौट गरेर व्यवस्थापनको नाममा दोहोरो खर्च र मेहेनत गरिरहेका छन् । नागरिक तथा स्थानीयवासीले महानगरले कन्टेनर व्यवस्थापन गर्न नसकेकोमा आक्रोस पोखिरहेका छन् ।

शहरभरी अस्तव्यस्त फोहरः हेपाहा नागरिक, फितलो प्रशासन र नाफामुखी संस्थाको परिणाम
हामी धेरैलाई थाह छ कि काठमाडौ उपत्यकाका सार्वजनिक स्थान सडक र नदी किनारमा जथाभावी फोहर फाल्नु हुदैन । शिक्षा चेतना र ज्ञानले सबैलाई थाह हुदा हुदैपनि किन शहर र सडकभर, नदी किनार र सार्वजनिक स्थानमा असरल्ल फोहर फालिरहेका देख्छौ । उपत्यकाको फोहर व्यवस्थापनमा नीतिगत पहल र विभिन्न कार्यक्रमले सम्बोधन गरेपनि व्यवहारमा उस्तै रहेको छ । स्थलगत रुपमा काठमाडौ उपत्यकाको अवलोकन गर्दा अस्तव्यस्त फोहर हुनुका पछाडिको मुख्य कारण तीनवटा रहेका छन् ।

१. हेपाहा नागरिक
काठमाडौ उपत्यकाका धेरै स्थानमा थुप्रिएका फोहरको प्रमुख कारण नागरिकको हेपाहा प्रवृत्ति रहेको छ । फोहर जथाभावी फाल्दाका नकारात्मक असरबारे जानकार हुदाहुदैपनि आफ्नो घर वा क्षेत्र मात्र सफा गरे सबै समस्या समाधान हुने सोच उनीहरुको रहेको छ । आफ्ना निजी स्थान सफा गरेर आत्मसन्तुष्टि प्राप्त गर्ने र सार्वजनिक स्थानमा लुकेर फोहर फाल्ने संस्कार बनेको छ ।  सरसफाई अभियान र ‘चेतना कार्यक्रम चलिरहदा पनि सडक किनारमा फोहरका थुप्रो फाल्ने संस्कार र पुलमाथिबाट नदीमा फोहर फाल्ने चलन पूर्णत रोकिएको छैन । कोहि नागरिकले जानअन्जानमा फोहर फाले त्यस अवस्थामा सम्झाउनुभन्दा फेरि अरु पात्रले फोहर फाल्ने गरेको छन् । सूचना प्रविधिको विकास र नागरिकको व्यस्तताले धेरै मानिस व्यक्तिवादी बनेका छन् । उपत्यकाका नागरिकलाई समयले क्षणिकतामा रमाउने बानी परेको छ । फोहर व्यवस्थापन, वातावरण संरक्षण वा अन्य कुनै पसार्वजनिक विषयमा बोल्न त क सोच्न समेत फुसंद मिलेको छैन । युवा वर्ग तथा समाजका जिम्मेवार पुस्ताको आधुनिकता र व्यस्तताले नयाँ पुस्तालाई समेत यस तर्फ संस्कार सिकाउन सकिएको छैन ।

शिक्षा र सोचले सकारात्मक ठानिएका उमेर समुहका नागरिकमा समेत सरकारप्रतिको आक्रोस, फोहर व्यवस्थापनमा परनिर्भरता देखिएको छ । धेरै नागरिकले फोहर फल्दाका नकारात्मक परिणामबारे जान्दाजान्दैपनि काम गरिरहेका छैनन् । सिद्धान्त, दर्शन र मौखिक रुपमा अव्वल नागरिकको व्यवहारभने आकाश जमिन फरक रहेको छ । फोहरको कुहिने र नकुहिने गरि स्रोतमै वर्गिकरण गर्ने, घरायसी फोहर व्यवस्थापनका सामान्य काममा समेत नागरिकले समय दिएका छैनन् । सामाजिक संजालमा अनावश्यक समयव्यतित गर्ने नागरिकलाई फोहर व्यवस्थापनमा करिब १५ मिनेट समय खर्चने फुर्सद समेत छैन । निश्चित आयआर्जनको कामपनि छैन तर सामाजिक काम वा फोहर व्यवस्थापनमा लाग्ने समयपनि ।
शनिवार विहान करिव २ घण्टा विभिन्न नदी, टोल तथा अन्य क्षेत्रमा सरसफाइका काम भईरहेका छन् । हप्तामा एकदिन फोहर सफाइमा लाग्ने नागरिकलाई समेत अन्य ६ दिन त्यसप्रति सोच्ने समयनै छैन । मुलुकभर चलेका सफाइ अभियान बाध्यकारी कि सामाजिक सुधारका लागि भनेर सोच्नुपर्ने भएको छ । प्रत्येक नागरिक फोहर व्यवस्थापन, स्रोतमै फोहर वर्गिकरण र फोहरको पुर्न प्रयोगतर्फ ध्यान नदिने हो भने समस्या झन् विकराल बन्दै जानेछ । फोहर व्यवस्थापन र वातावरणको विषय धेरैका लागि वैकल्पीक विषय बन्नु अर्को दुखदायी क्षण बनेको छ ।


२. फितलो प्रसासनः
हामी धेरैले प्रसासन भन्ने वित्तिकै सरकारलाई सम्झन्छौ । मुलुक संघियतामा प्रवेश गरेसगैँ नेपालीसगँ तीन तहको सरकार रहेको छ । स्थानीय, प्रादेशिक र संघिय सरकार तर वातावरणका हिसावले कार्यसम्पादनका अवस्था हेर्दा चिन्ताजनक रहेको छ । विद्यमान फोहरमैला व्यवस्थापन ऐनले पनि फोहर व्यवस्थापनको दायित्व स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार पूर्वाधार, कानुनी धरातल, स्रोत तथा नागरिकको विश्वास त छ तर सरकार संचालनको फोहर व्यवस्थापनप्रतिको सोच र ईच्छाशक्ति अपेक्षिकृत छैन । स्थानीय सरकारको विकासका मापदण्डमा वातावरण र फोहरमैलाका विषय पर्नै सकेका छैनन् । स्थानीय सरकारको रुपमा रहेका महानगपालिका, उप महानगर, नगरपालिका वा गाउँपालिकाहरुलाई फोहर व्यवस्थापनका विषयमा ठोस कार्यक्रम मार्फत सम्वोधन गर्न सकेका छैेनन् । स्थानीय सरकारका वडा कार्यलय अगाडि फोहरको थुप्रो तथा विविध वातावरणीय समस्या देख्दासमेत जनप्रतिनिधि मुख छोपेर सामान्य रुपमा हेरिरहेका छन् । स्थानीय सरकारले कडा कानुन वा नागरिकमैत्री शासन लागु गर्न सकेका छैनन् र भएका प्रसासनिक संयन्त्रपनि फितलो रहेका छन् ।
नागरिकले जथाभावी फोहर फाल्दा वा भनौ फोहर बाल्दा टुलुटुलु हेरिरहने सरकार पनि कस्तो सरकार होला । वातावरण, वनस्पती । नागरिकको स्वास्थ्यसगँ सम्वन्धीत फोहरमैला व्यवस्थापनको विषयमा सरकार र सरकारी संयन्त्र अत्यन्त फितलो देखिएको छ । ्

३. नाफामुखी फोहर संकलन संस्था
फोहर व्यवस्थापनमा स्थानीय सरकारसगँको सहकार्य र अनुमतीमा थूप्रै निजी संस्थाहरुले फोहर संकलन एवं स्थानातरण गर्ने काम गरिरहेका छन् । उनीहरु धेरैको काम नागरिकको दैलोको फोहर सिसडोल ल्याण्डफिल्डसम्म पुर्याउने मात्र देखिएको छ । आफ्नो जनशक्ति, स्रोत साधनले धान्नेभन्दा बढी घरधुरी लिने र सहमतीमा एक रुप र व्यवहारमा अर्कै स्वरुप देखाउने संस्कारको विकास भएको छ । निजी संस्था घरधुरी बढाउन जति क्रियाशिल र मेहेनती देखिन्छन् त्यहि रुपमा फोहर व्यवस्थापन वा फोहरको वर्गिकरणमा देखिएका छैनन् ।  धेरै संस्था र प्रतिनिधिको द्येयनै फोहर व्यवस्थापन सामाजिक कामभन्दा  पनि नाफामुखी कार्यका रुपमा लिएको पाईन्छ । एक क्षेत्रमा हप्ताको एकदिनको तालिका अनुरुप सात क्षेत्र लिएर त्यसै अनुरुप फोहर व्यवस्थापनको काम गर्न सकिरहेका छैनन् । उपत्यकाको दैनिक उत्पादन हुने फोहरको ५० प्रतिशत फोहर सिसडोल ल्याण्डफिल्ड साईटमा थुपारिने गरिएको छ । झण्डै १३ वर्षको फोहर राखिएको सिसडोलमा फोहरको पहाड बनिसकेको छ र व्यवस्तापकिय हिसाबले थुप्रै समस्या सृजना भएका छन् । फोहर व्यवस्थापनमा न्युनतम पूर्वाधार र धरातलविना स्थानीय सरकारले फोहरलाई स्रोतको रुपमा परिणत गर्न सम्भन छैन ।
तसर्थ विद्यमान समस्या र व्यवहारिक चुनौतीकाविच फोहर व्यवस्थापन सहि तवरले गर्नु आवश्यक देखिएको छ । सार्वजनिक स्थलको फोहर व्यवस्थापनमा विविध रुपमा देखिएका समस्या समाधान तर्फ जिम्मेवार सरकारी निकाय , नागरिक, क्रियाशिल संघ संस्था र अभियन्ताविच सहकार्यको आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

 

 

Give Us Feedback