img2
कार्यक्रम उर्जा सरोकार बुधबार राति ९:३० बजे प्रशारण हुने

नागरिकमा उर्जाको पहुँच पुर्याउन विगतमा स्थापना भएका लघु जलबिद्युत आयोजना नेपाल विद्युत प्राधिकरणकोे राष्ट्रिय प्रशारणमा जोड्न विज्ञहरुले सुझाएका छन् । कार्यक्रम उर्जा सरोकारमा बोल्दै संस्थागत प्रतिनिधिहरुले नेपालमा संचालनमा भएका लघु जलविद्युत आयोजना संचालनमा देखिएका नीतिगत समस्या, पूर्वाधारको उपलब्धता, नयाँ प्रविधि र दक्ष जनशक्तिको उचित व्यवस्था हुनुपर्ने बताएका छन् ।

नुवाकोटमा रहेको स्याउरेभूमि जलविद्युत आयोजनको भ्रमणपछि बोल्दै वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका सामुदायिक विद्युतीकरण शाखा प्रमुख रणबहादुर थापाले आयोजनाले उत्पादन गर्ने विद्युतको अधिकतम प्रयोगका लागि समुदाय सचेत बन्नुपर्ने र त्यसमा ग्रिड जडानका लागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोगका लागि केन्द्र सकारात्मक रहेको बताउनुभयो । स्याउरेभूमि जलविद्युत आयोजना राष्ट्रिय प्रशारणमा जडान भएपछि वार्षिक आम्दानी बढेको अध्यक्ष सुदर्शन बुढाथोकीले बताउनुभयो । आयोजना विगतमा रातको समयमा मात्र चल्ने गरेको तर ग्रिडमा जडान भएसँगै विस्तार भएको हो । संवादका क्रममा नेपाल विद्युत प्राधिकरणको तर्फबाट बोल्दै विद्युत व्यापार विभागकी प्रर्वन्धक रन्जु पाण्डेले लघु आयोजनाको प्राविधिक क्षमता अनुरुपको उर्जा उत्पादन र त्यसको सहज खपतका लागि प्राधिकरणले थालनी गरिसकेको बताउनुभयो । उहाँले चारवटा लघु आयोजना राष्ट्रिय प्रशारणमा जडान भईसकेको जानकारी गराउनुभयो ।
 

नागरिकको जीवनस्तर उकास्न र उर्जामा पहुँच विस्तारसगैँ राष्ट्रिय प्रशारणमा जडान भएका आयोजनाको भविष्य सुखद रहेको ग्रामिण जीविकोपार्जनका लागि नविकरणीय उर्जाका राष्ट्रिय कार्यक्रम प्रर्वन्धक सतिश गौतमले बताउनुभयो । उहाँले आयोजनाको दिगोपनाका लागि ग्रीडमा जडान हुन आवश्यक रहेको बताउनुभएको छ ।
समुदायले स्थानीय स्रोत व्यवस्थापन गरेर उत्पादन गरेको जलविद्युतको सम्भावना रहेको विज्ञ सुरेन्द्र माथेमाले बताउनुभयो । राष्ट्रिय प्रशारणका लागि जडान हुन आवश्यक प्रविधिको क्षमता तथा पूर्वाधारका विषयमा प्राधिकरणले उचित निर्णय लिएमा झन् सहज हुने देखिएको छ । स्थानीय सरकार प्राकृतिक स्रोतको दीगो उपयोगका लागि नीति तथा कार्यक्रम. मार्फत सम्बोधन  गरेको शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

कार्यक्रम उर्जा सरोकारको पूर्ण पाठ बुधबार राति ९ ३० बजे  सगरमाथा टेलिभिजनबाट प्रसारण हुनेछ ।

 

 

 

Give Us Feedback