img2
कोलम्बो र काठमाडौको शहरी वनलाई सम्झदा

                डा. राजेन्द्र के .सी

     सामान्यतः शहरीकरण र हरियाली एक अर्काका प्रतिस्पर्धिको रुपमा देखिन्छन् ।
     कुनैपनि क्षेत्रमा अत्याधिक जनसंख्या, पूर्वाधारको   चाप, महँगो जमिन र व्यापारिक महत्वका कारणले गर्दा व्यत्तिगत र व्यवसायिक लाभका लागि शहरिकरण बढ्दै गएका छन् । मानिसमा क्रय शक्तिको क्षमतामा विकास,  सुविधा प्रयोग तर्फ मोहका कारण शहरीकरण बढ्दै गएको छ ।  

सहरमा सुविधाका नाममा हुने पूर्वाधार विकासका कारण विगतमा रहेका हरियाली, रुखविरुवा र जीवजन्तुहरु क्रमशः घट्दै गएको पाइन्छ । यसको पछिल्लो उदाहरण दक्षिण एशियाका राजधानीका शहरहरु र अन्य महानगरलाई लिन सकिन्छ । यद्यपी, सम्बन्धित स्थानका महानगरपालिकाहरु, प्रादेशिक सरकार र केन्द्र सरकारहरुबाट समेत शहरी सौन्दर्यकरण, हरियाली प्रवद्र्धन र प्रदुषण नियन्त्रणमा विभिन्न योजनाहरु र कार्यक्रमहरु संचालनमा ल्याउने गरेका छन् ।


रुख विरुवा, हराभरा सहरी उद्यान, नागवेली परेका हरित सडकपेटी, विरुवा (बगानले भरिएका आवासीय क्षेत्र एवं धार्मिक स्थानहरु कुनैपनि सहरको सभ्यता र सौन्दर्यताको प्रतिक र मापकको रुपमा लिइन्छ । आधुनिक विश्वमा सहरको सौन्दर्यता र त्यहाँ बस्ने मानिसहरुको सभ्यताको प्रतिक गगनचुम्बी भवन, कम्प्लेक्स र फराकिला  सडक मात्रै होइन, तहाँ अवस्थित रुखविरुवा, उद्यान र तिनीहरुको अवस्थालाई लिने गरिन्छ । हराभरा सहर, काँटछाट गरिएका व्यवस्थित वन, हरित सडक र सडकपेटी, प्रदुषणरहित नदीनाला र बँगैचा, प्रशस्त खुलास्थानहरु जुनसुकै शहरको सभ्यताको परिचारक र सम्वृद्धिको सूचकको रुपमा लिन सकिन्छ ।

शहरी हरित क्षेत्रहरुलाई केही विद्वानहरुले ४ किसिममा विभक्त गरेको पाइन्छ ।

  • सार्वजनिक हरित क्षेत्रः जस्तै शहरी उद्यानहरु
  • अर्धसार्वजनिक हरितक्षेत्रः सरकारी कार्यालयहरु, अस्पतालहरु, औधोगिक क्षेत्रहरु वरिपरिरहेको हरियाली क्षेत्र
  • नीजि हरितक्षेत्रः मानिसहरुको आवासीय क्षेत्रहरुमा रहेको हरियाली
  • सडक, सडकपेटि र नदी छेउका हरियाली क्षेत्रहरु


संयुक्त राष्ट्रसघीय वातावरण कार्यक्रम र श्रीलंका सरकारको संयुक्त आयोजनामा यहि  कार्तिक महिनाको ६ र ७ गते श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित दिगो नाइट्रोजन व्यवस्थापन संबन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा तहाँको हरियाली र सौन्दर्यता प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भयो । त्यहाँका सडक किनारा, व्यवसायिक भवनमा हरियाली, शहरी क्षेत्रमा रोपिएका रुख विरुवा र हरियालीले धेरैको मन लोभ्याएको थियो ।

शहरी हरित क्षेत्रहरुले विभिन्न किसिमका वस्तु र वातावरणीय सेवाहरु निरन्तर प्रदान गर्दछ । शहरी सौन्दर्यका साथै जैविक विविधता संरक्षण, वायु तथा जलप्रदुषण नियन्त्रणमा सहरमा रहेका रुखविरुवाहरुको अत्यन्त महत्वपुर्ण भूमिका रहन्छ ।

बिरुवाहरु कुन र कस्ता प्रजातिहरु रोपिएका छन् ? रोपिएका रुखविरुवाहरुको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन कसरी गरिएको छ । रुख विरुवाहरुको अवस्थिति र भौतिक वितरण कसरी गरिएको छ त्यसले हरियाली क्षेत्रबाट प्राप्त हुने वस्तु र सेवाहरुको निरन्तरता र गुणस्तरियता निर्धारण गर्दछ ।

हालसालै गरिएको कोलम्बोको भ्रमणबाट त्यस सहर व्यवस्थित, राम्ररी योजना बमोजिम भौतिक संरचनाहरु निर्माण गरिएको र शहरको हरियालीलाई प्रर्वद्धन गरिएको पाइयो ।

दक्षिण एशियाका अरु शहरहरुको जस्तै प्रति व्यक्ति शहरी हरियाली ७.१६ बर्गमीटर मात्र रहेको पाइएको छ । यो तुलनात्मक रुपले आकंडामा सन्तोषजनक नभएपनि  शहरभरि सर्वत्र रुखविरुवा लगाइएको पाइन्छ । शहरका यत्रतत्र ठूलाठूला पिपलको बोटहरु र सोको छहारीमा सौम्य र सुन्दर बुद्धको मूर्तिहरु राखेको दृश्यले वातावरण आनन्दित बनाएको देख्न पाइन्छ ।


 पिपल, टाँकी, कोटोम्बा, अशोक, आँप, अमला लगायत विभिन्न प्रकारका रुख प्रजातीहरु यत्रतत्र सर्वत्र देख्न पाइन्छ । शहरको बिचमा सयौ वर्ष पुराना पिपलका बोटहरु, छहारीमा नागरिक फैलिएका जराहरु देख्न सकिन्छ । शहरका सडकका दुबै तिर निश्चित दुरीमा सयौ ठूलाठूला रुखहरु देख्न पाइन्छ । जसलाई नियमित रुपमा काँटछाँट गरिएको अनुभूति हुन्थ्यो । शहरमा विभिन्न निजी क्षेत्रको सहयोग र समन्वयमा नगरपालिकाले सडक वृक्षरोपण गरेको र उक्त वृक्षरोपण जोगाउन ट्रिगार्ड लगाएको देखियो ।

वृक्षरोपणमा नियमित गोडमेल र सिँचाई गर्ने गरेको देखिन्थ्यो । सडकमा कहीपनि छाडा चौपाया देख्न पाइएन । सडकमा कतैपनि बिजुली र टेलिफोनका लत्रिएका तारहरु देख्न पाइएन । चौडा र सफा सडक एवं कोलम्बोको हरियाली सायद विगतमा पोर्तुगिज, डच र बिट्रिश साम्राज्यले बसालको स्थितिको परिमाण हो कि ?


तुलनात्मक रुपले कोलम्बोको फरक स्वरुप काठमाण्डौमा देख्न सकिन्छ । काठमाण्डौको वरिपरिका डाँडा रहेको जस्तो प्राकृति वन जंगल, सुन्दरता र हरियाली कोलम्बोमा पाइदैन । तर शहरी भित्रको हरियाली र वन जंगल नेपालमा अत्यन्त कम रहेको छ । जंग बहादुर राणाले युरोप भ्रमणबाट फर्किदा आफुसंग ल्याइ सहरी वृक्षारोपण गरेको लामो इतिहास भएतापनि यहाँका भौतिक पूर्वाधारहरु निर्माण गर्दा वृक्षारोपण र हरियाली जोगाउन प्राथमिकता दिएको पाइदैन । अरबौं रुपियाँ खर्च गरेर सडक, नहर तथा यस्तै भौतिक पूर्वाधारहरु डिजाइन र निर्माण गर्दा कम खर्च लाग्ने वृक्षारोपण र हरियाली बारेमा ध्यान पुर्याइदैन ।  सडक डिजाइन (च्यबम म्भकष्नल) एवं च्यबम भ्लनष्लभभचष्लन भन्नाले सडकको मात्र होइन, सडकपेटी, आकाशेपुल, ल्याण्डस्केप, सडक छेउ वृक्षारोपण, सडक विद्युत, सडक ड्रेनेज र खानेपानी, टेलिफोन सबैको एकिकृत डिजाइन र योजना हो भन्ने हेक्का धेरै कम मात्रले  राख्ने गरेको पाइन्छ । करिब रु. ८ अर्बको लगानीमा तयार गरिएको कोटेश्वर देखि कलंकी सम्मको करिब ९ किलोमिटर दुरीमा साँझ यात्रा गर्ने हो भने सडक विद्युतको अभावमा अध्यारो महसुस गर्नु पर्दछ भने सडक सौन्दर्यीकरण र वृक्षारोपणको बारेमा त सोचिएको समेत पाइदैन ।


सडक वृक्षारोपणले सडकको सौन्दर्यता अभिवृद्धि गर्ने र सडक आफैको जीवनकाल बढाउने भएको हुनाले यो खर्च नभई भविष्यको लगानी हो भन्ने नीति निर्माताहरुबाट नै ध्यान पुग्न सकेको पाइदैन । मानिसहरुमा जनचेतनाको कमि छ ।


वृक्षारोपणको संरक्षण, व्यवस्थापन र प्रर्वद्धनमा स्थानीय मानिसहरुको सहभागिता र उत्तरदायित्व बोधमा कमि रहेको हालसालै तिनकुनेमा तयार गरिएको उद्यानमा राखिएको दुबोको चपरि हराएको र सो संरक्षणकालागि प्रहरी परिचालन गर्नुपर्ने परिस्थितीबाट समेत पुष्टि हुन्छ ।

सरकारी संरचना र संघसंस्थाहरु बीच समन्वय र सहकार्यको अभाव छ । ब्यापक छलफल र सहमति पछि गरिएको वृक्षारोपण गरेर नभ्याउदै अर्को संस्थाले विभिन्न प्रयोजनका लागि  खाल्डो खन्न शुरु गरेका दृष्टान्त धेरै भेटिन्छन् । उदाहरणका रुपमा कोटेश्वर देखि कलंकीसम्म गरिएको सडकछेउ वृक्षारोपण गरिएका स्थानमा अन्य निकायबाट गरिएको खनजोत र ट्रिगार्डमा पुर्याइएको हानी नोक्सानी रहेको छ ।


करिब ६० लाख जनसंख्या रहेको कोलम्बो त्यत्तिकै हाराहारीमा जनसंख्या रहेको काठमाण्डौ उपत्यकाको हरियालीलाई तुलना गर्दा कोलम्बो बढी हरियालीयुक्त, सफा देखिन्छ भने काठमाण्डौ तुलनात्मकरुपले कम हरियाली र बढि प्रदुषित शहरको रुपमा रहेको छ ।


तसर्थ कोलम्बोबाट वातावरण तथा पर्यावरण संरक्षण र हरित शहर निर्माणमा काठमाडौँले सिक्नुपर्ने धेरै पाटाहरु देखिएको छन् । स्थानीय सरकारले चर्चा गर्ने स्मार्ट सिटी तथा राजनीतिक वृत्तमा चर्चा हुने हरित क्रान्तिकालागि सबैले शहरी क्षेत्रमा वृक्षरोपण गर्ने, रोपिएका बिरुवा हेरचाह, प्राविधिक रुपले अध्ययन सम्पन्न गरेर सडक किनारा तथा नदी किनारामा वृक्षरोपण गर्न सके धेरैको सपना पूरा हुनेमा विश्वस्त हुन सकिन्छ ।

 

लेखक के.सी वन तथा वातावरण मन्त्रालयका सह सचिव  एवं वन तथा जलाधार व्यवस्थापन महाशाखाका प्रमुख हुनुहुन्छ । लेख सम्बन्धी केहि प्रतिक्रिया वा सुझाव भएमा rkc.gen@gmail.com पठाउन सक्नुहुनेछ ।

 

 

Give Us Feedback