img2
ऊर्जा सुशासनको माध्यमबाट विद्यमान ऊर्जा गरिबी हटाउनुपर्ने : विज्ञ

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा क्षेत्रका विज्ञहरु सम्मिलित उच्चस्तरीय छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. कृष्ण प्रसाद ओलीले देशको दुरदराजसम्म नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा केन्द्रको प्रशंसा गर्नुभयो । साथै  उहाँले ऊर्जा सुशासनको माध्यमबाट विद्यमान ऊर्जा गरिबी हटाउनुपर्नेमा जोड दिनुभयो ।
.
संघीयताको सन्दर्भमा नवीकरणीय ऊर्जा प्रवद्र्धनमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका तथा ऊर्जा दक्षता र विश्व जलवायु कोष सम्बन्धी नयाँ जिम्मेवारी सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग बृहत छलफल गर्ने उद्देश्यले केन्द्रको २३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

ऊर्जा अर्थतन्त्र तथा लगानीलाई सन्तुलित रुपमा अघि बढाउन व्यक्तिगत तथा सामूहिक दुवै तवरबाट प्रयास हुनुपर्नेमा विज्ञहरुले बताएका छन् । नवीकरणीय ऊर्जाको क्षेत्रमा आवश्यकता अनुसार विज्ञान तथा प्राविधिक विषयमा  नवीनतम अध्ययन अनुसन्धान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले छलफलको औचित्यमाथि प्रकाश पार्दै छोटो छलफलले नवीकरणीय ऊर्जा सम्बन्धी धरै विषयवस्तुहरुलाई उजागर गरेको बताउनुभयो । उहाँले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जाको विकास तथा प्रवद्र्धन सम्बन्धी सम्पूर्ण नीतिगत तथा कार्यान्वयन पक्षहरुलाई समेटेर बृहत व्यवसायिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । सचिव घिमिरेले छलफलमा उठेका महत्वपूर्ण सुझावहरुलाई नीति निर्माणको क्रममा समेटिने पनि बताउनुभयो । नयाँ संविधानले नवीकरणीय ऊर्जाको अधिकार स्थानीय तहलाई दिए तापनि यसलाई क्रमिक रुपमा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले यस्ता उच्चस्तरीय छलफलको महत्व धेरै हुने भएकोले मन्त्रालय, योजना आयोग, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नवीकरणीय ऊर्जा प्रवद्र्धनमा केन्द्रले स्थानीय तह प्रतिस्पर्धा होइन,  आपसमा समन्वय र सहकार्य गर्दै सहयोगीको भूमिका निर्वाह गर्ने बताउनुभयो । वर्तमान अवस्थामा नवीकरणीय ऊर्जा प्रवद्र्धनमा केन्द्रको जिम्मेवारी अझै बढेको बताउँदै ऊर्जा दक्षता तथा विश्व जलवायु कोषसँग आबद्धताले केन्द्रमा नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रमहरु आगामी दिनमा अझै बढ्ने जानकारी गराउनुभयो ।


ललितपुर स्थित एक  होटलमा आयोजित कार्यक्रममा विभिन्न पूर्व मन्त्री, मन्त्रालयका सम्बन्धित क्षेत्रमा उच्च पदस्थ विज्ञ कर्मचारीहरु, नवीकरणीय ऊर्जा विज्ञहरु, विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण, नेपाल नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ, नवीकरणीय ऊर्जा परिसंघ लगायत विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । केन्द्रले कार्तिक १८ गते २३ औं वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ ।

Give Us Feedback