img2
मानिसले तरकारी पाएनन्, तरकारीले खाने मानिस पाएन 

यस्तै हो त कृषिक्रान्ति ? 

शिवराम रायमाझी 

विगतका वर्षजस्तै यो बर्ष पनि हामीले आलु खनेपछि धानको बिउ राख्यौ। धानको बिउ तयार भईन्जेलको  समयमा रायोको साग तयार हुन्छ भनेर लगभग २ रोपनी जग्गामा रायोको साग र केही मुला लगाएका थियौँ । 

रायोको साग तयार भएको ३ - ४ दिन भइ सक्यो तर बजारमा विक्री हुने नाम निसाना छैन। पहिला(पहिला डोकेहरु (डोकोमा साग बेच्ने समूह) खेतमै साग किन्नक लागि तछाड( मछाड गरेर आउथे। अहिले उनीहरूलाई पटक पटक आग्रह गर्दा समेत वास्ता गर्दैनन् । 

कारण कोरोना, लकडाउन वा जे भएपनि रायोका साग खाने मानिस गाउँ गएका हुन् त?  करिब २ महिना भन्दा बढीको लकडाउनले तरकारीको बजार घटेको छ । अहिले बिहान(बिहान खुलेका तरकारी पसल , डोके र ठेलागाडा हेर्दा सागको माग अत्यन्त कम छ अझ सागले पाउने दाम झन् कम रहेको छ  । कोरोनाले  विश्वको अर्थतन्त्रमै समस्या पारेको समाचार संचारमाध्यममा सुनेपनि त्यसको असर हामीजस्ता कृषकलाई समेत टड्कारो रुपमा असर परेको छ ।  

संकट सबैलाई छ अब यत्ति ठूलो सरकारले रायोको सागको कुरामा वास्ता गर्ने समय होला र ? तर एक पटक मनमा फेरि एउटा भाव आयो ।  संघीयता आएपछि गाउँ गाउँमा   सिंहदरबार पुगेको चर्चा थियो तर किसानका कुरा कसले सुन्ने ? सर्वत्र सडक खन्नमा व्यस्त स्थानीय सरकारले कम्तिमा एउटा  कृषि प्रशोधन केन्द्र स्थापनाका लागि केही सोचेको भए आज रोपनीमा फलेका रायो मल बन्न पर्दैन्थ्यो । मजस्ता धेरै किसानले केही राहत पाउथ्यौँ होला ।  केन्द्र स्थापना भएमा उत्पादन बढी भएको बेलामा वा उपभोग कम भएको बेलामा त्यस्ता उत्पादनलाई प्रशोधन गरेर राख्न त सकिन्थ्यो। प्रशोधित वस्तु उसै पनि महँगो हुन्छ। त्यसो हुँदा किसानलेनै फाइदा पाउने हुन्। 

सरकारनै धेरैभएपछि कृषकले कसलाई भन्ने ? सबै फोरम तथा सार्वजनिक स्थलमा नेपाल कृषिप्रधान देश भन्ने तर  कृषिलाई केन्द्रमा राखेर योजना मात्र बनेका छन् । कार्यान्वयन छैन भन्दापनि हुन्छ ।  यसपालिहामी सुखी नेपाली, संमृद्ध नेपाल सुन्न अभ्यस्त भएका थियौं तर अपसोच समृद्धि प्राप्त हुन सकेन । रेडियो टिभीमा बजेका नारा त्यतै बिलाए । 

अचम्म त यस्तो लाग्छ यस्तो बलियो दुई तिहाईको सरकारले एक तिहाई तरकारी बेच्ने वातावरणपनि बनाउन सकेन । सरकार कोरोनाको कहरमा कुर्सीकै खेलमा लाग्यो । संकटमा सरकारले सहयोग नगरे सामान्य अवस्थामा हामीजस्ता किसानलाई किन चाहियो सरकार ? 

पहिला पहिला जतिबेला गोठाटारमा नयाँ वस्ती थपिएको थिएन , हामी साग लगायत आफ्नो उत्पादन आफै बेच्न शहरतिर जान्थ्यौ। जब अरु जिल्लाका साथीहरू हाम्रो गाउमा थपिनु भयो , हाम्रो उत्पादन यतै विक्री हुन थाल्यो। अरुले नै किनेर यहाँको बजारमा  लग्न थाले । उपभोक्ता र कृषकबिचको दुरी पनि बढ्यो। मुल्य पनि बढाईयो । अहिले उत्पादन र विक्रि वितरणकाृ काममा समय व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।  

यसपालि साय उत्पादनमा बिउ, मल , सिंचाइ , गोडमेल , खेताला , गरेर करिब  ५ हजार जति खर्च भएको छ तर लागत खर्च उठ्ने छाटकाट छैन। पोहोर सालको जस्तो अनुकुल समय भएको भए हामीले ४० हजारको साग बेच्थ्यौ। तर अहिले निश्चित समयमा बेच्न नपाउदा साग रोगाउन थालेको छ । मलाई जानकारी भएसम्म गोठाटारमा  कृषि सहकारी पनि छैन। गाँउगाँउका कृषि सहकारी पनि संकलन र नाफा केन्द्रित भएका छन् ।  होईन भने कृषकका अवस्था सधै नाजुक हुन्छन् । तरकारी, फलफूल, दुध बेलाबखत सडकमा आक्रोस र पीडा मिसिएर पोखिन्छन् । 

देशका लाखौ नागरिक कृषिमा अड्न नसकेर विदेश पलायन भएका छन् । कोरोनाले करिब ६० प्रतिशत नेपालीलाई फेरि नेपाल फर्काउने बातावरण बनेको छ । अबका दिनमा पनि सरकारले कृषिमा क्रान्ति गर्नुहोस् चनेर भाषण दिनेकि साच्चै कृषिमा लाग्न आवश्यक मल, विउ विजन, सिचाई, बजार व्यवस्थापनमा सहयोग गर्ने यसतर्फ सोच्नु आवश्यक छ । प्रत्येक वर्ष छिमेकी देश भारतमा खडेरी र कृषिमा भएको घाटा व्यहोर्न नसकेर किसानले आत्महत्या गरेका समाचार सार्वजनिक भएका छन् । 

सरकारलाई कोरोना बहाना बन्नु हुदैन । अहिलेसम्म त हजारौं किसानका सपनाले मात्र आत्महत्य गरेका तर किसानले गर्ने दिन सरकारले निम्त्याउनु हुदैँन । 

नेपाललाई कृषिमै आत्यनिर्भर बनाउन स्थानीय सरकारले आ आफ्नो क्षेत्रका आवश्यकता अनुरुप गृहकार्य गर्न सके धेरै किसानलाई राहत पुग्नेमा विश्वास लिन सकिन्छ । धेरै नेपाली किसानसगँ सपना, सिप र श्रम छ जसको व्यवस्थापन गर्न सबैको ध्यान जानु आवश्यक छ । तसर्थ कृषिमा धेरै नागरिकलाई संलग्न गराउन सहज वातावरण र आत्मबल निर्माणमा हातेमालो गर्न जरुरी छ । 

 

Give Us Feedback