img2
बाजुराका गाउँ गाउँमा शौचालय र जुठ्यान बनाउने लहर 

बाजुराको बडिमालिका नगरपालिकाका विभिन्न वडामा लकडाउनको समयलाई सदुपयोग गर्दै सरसफाइ र शौचालय निर्माणमा विशेष अभियान संचालन भएको छ । लकडाउनमा आ आफ्ना घर टोलमा शौचालय, हात धुने स्थान तथा जुठ्यान निर्माणले गति लिएको स्थानीय प्रेम साउदले जानकारी गराउनुभयो । उहाँका अनुसार चौताराका टोलका नन्द साउदले आफ्नै लगानीमा स्थानीय रुपमा उपलब्ध ढुंगा, माटो, काठको प्रयोगले शौचालय बनाउनु भएको हो । 

विगतमा शौचालयको आवश्यकता तथा सरसफाइमा ध्यान दिन खेती किसानीको कामले नभ्याईने भएकाले लकडाउनको समय सदुपयोग गरिएको नन्द साउदले बताउनुभयो । 

विकास साझेदारी संस्था यु एन ह्याबिट्याट र बडिमालिका नगरपालिकाले शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने तथा पूर्ण सरसफाइका सूचक प्राप्तीका लागि नागरिकलाई जानकारी गराउने क्रममा आफुले शौचालयको सरसफाइको महत्व बुझेको बताउनुभयो । उहाँका अनुसार परिवारका सदस्यलाई समेत अनिवार्य रुपमा शौचालयको प्रयोग, साबुन पानीले हात धुने अनुरोध गरिएको हो । 

स्थानीय प्रेम साउदका अनुसार लकडाउनको समयले नगरपालिकाका विभिन्न वडामा सरसफाइको लहर चलेको र सकारात्मक नतिजा प्रदान गरेको छ । नेपाल खुला दिसामुक्त घोषणा भएसगैँ पूर्ण सरसफाइ तर्फ अग्रसर बन्न स्थानीय सरकार तथा सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको छ । 

Give Us Feedback