img2
लघु तथा साना जलविद्युतमा आधारित मिनीग्रिड आयोजना निर्माणमा सम्झौता

कर्णाली प्रदेशको जुम्ला जिल्लाको विभिन्न ७ वटा लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माण गर्न विस्तृत सम्भावयता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच २०७७ कार्तिक २ गते सम्झौता भएको छ । 

 सो सम्झौता पत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी (एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनी लिमिटेड) को तर्फबाट उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर तथा नेपाल विद्युत प्राधिकरणको डेपुटी म्यानेजिङ्ग डाइरेक्टर हितेन्द्र देव शाक्यले हस्ताक्षर गर्नुभएको हो । 

उक्त मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइन लगायतको विस्तृत सम्भाव्यता अध्ययन एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनी लिमिटेडले गर्नेछ भने सो को लागि आर्थिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माणको गरेको पहल अनुरुप पहिलो चरणको सफलता प्राप्त भएको हो । 

सो परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सम्पन्न ६ वटा आयोजनाहरु तथा नेपाल विद्युत प्राधिकरणको सहयोगमा सम्पन्न १ वटा गरी ७ वटा आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताइृएको छ ।  । सदरमुकाम स्थित चन्नदननाथ नगरपालिकामा रहेको २०० किलोवाट क्षमताको घुघुजी साना जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहयोगमा निर्माण भएको हो भने बाँकी आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १.६२४ मेगावाट रहेको छ ।

सम्झौतापश्चात आफ्नो धारणा राख्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले लघु तथा साना जलविद्युत आयोजनाको प्रभावकारी व्यवस्थापन र दीगोपनाको लागि आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नुपर्ने बताउनु भएको छ । मिनीग्रिड निर्माणको लागि एन.इ.ए इञ्जिनियरिङ्ग कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी निर्देशक अधिकारीले सो कुरा बताउनु भएको हो । केन्द्रले विगत देखि नै यस कार्यलाई प्राथमिकतामा राखेको र हालसम्म देशका विभिन्न स्थानमा ६ वटा लघु जलविद्युत आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडान भइसकेको र २४ वटा लघु जलविद्युत आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडानको लागि अध्ययन सम्पन्न भएको बताउनुभयो । 

नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनको पहुँच पुग्ने बित्तिकै बन्द हुने क्रमलाई रोक्न उक्त आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जोड्नुको विकल्प नरहेकोमा उहाँले  जोड दिनुभयो । 

हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत आयोजनाहरुमध्इे राष्ट्रिय प्रशारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाहरुको संख्या  छिट्टै पहिचान गरिने बताउनुभयो । आयोजना जडान गर्दा, एकल आयोजनालाई सिधै राष्ट्रिय प्रशारणलाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एक भन्दा बढी आयोजनाहरुको लोकल ग्रिड निर्माण गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई अफग्रिड मोडमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्प सहित अध्ययन गरिने समेत उहाँले बताउनुभयो ।

त्यस्तै सम्झौताको अवसरमा बोल्दै एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर हितेन्द्र देव शाक्य मिनीग्रिड निर्माणको लागि प्राधिकरण र केन्द्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । यस्ता मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदै यसको लागि नेपाल सरकार र विभिन्न विकास साझेदारहरुसँग छलफल गरी उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । साथै उहाँले लघु तथा साना जलविद्युत लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नको लागि आवश्यक गुरु योजना तयार गर्न केन्द्र, प्राधिकरण र एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
 

Give Us Feedback