img2
ललितपुर महानगरमा हात धुने स्थान जडानले नागरिकलाई सहयोग

ललितपुर महानगरपालिकाले कोरोना भाईरसको संक्रमण तथा जोखिम कम गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको साबुन पानीले हात धुने विषयलाई विशेष प्राथमिकता दिएको छ । महानगरको २५ भन्दा बढी सार्वजनिक स्थलमा विकास साझेदारी निकाय स्थानीय वडा तथा संघ संस्थाको सहयोगमा स्पर्शरहित हात धुने स्थान जडान गरेको नगर प्रमुख चिरी बाबु महर्जनले बताउनुभयो ।

उहाँले महानगरबासीको स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यान दिदै सार्जजनिक स्थलमा हात धुने स्थानको व्यवस्था गरिएको र यसलाई बिस्तार गर्दै लैजाने बताउनुभयो । हात धुने स्थानको जडान वा स्थापना मात्र उपलब्धी नभएकाले यसको नियमित प्रयोग, सरसफाइ, संरक्षण तथा पानी तथा साबुनको व्यवस्था गर्न जिम्मा लिएको निकाय तथा वडा कार्यलाई आग्रह गर्नु भएको छ ।

दोलखा स्थायी घर भई सातदोबाटो बस्ने रस्मिता सेडाईले सार्वजनिक स्थलमा महानगरले जडान गरेको हात धुने स्थानले सबै नागरिक तथा पैदलयात्रुलाई सहयोग पुगेको बताउनुभयो । कुमारीपाटी क्षेत्रमा राखिएकौ स्टेशनमा हात धोएपछि बजार निस्कदा साबुन पानी बोकेर हिड्न सम्भव नभएको तर हात धुनु आवश्यक रहेकाले यस्ता स्थानको प्रयोग गरिएको बताउनुभयो । हन् नागरिकलाई समेत साबुन पानीले मिचि मिचि हात धोई कोरोना संक्रमणबाट बच्न आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरका वातावरण ईन्जिनियर प्रदिप अमात्यले सार्वजनिक स्थलमा जडान गरि संचालनमा आएका हात धुने स्थानको सबैले प्रयोग तथा संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धेरै स्थानमा ५ सय लिटरका ट्याङ्घी जडान भएकाले त्यसमा पानीको मात्रा हेरेर पुर्नभरणको काम गर्न स्थानीय संघ संस्था तथा व्यक्तिको सहयोग अपरिहार्य रहेको बताउनुभयो । स्थानीय नागरिक यस्ता हात धुने स्थानको अवस्था सुधारमा थोरै चिन्ता गरेमा त्यसको दीगोपना रहने तथा सबैले प्रयोग गर्न पाउने बताउनुभयो । झोल साबुन सकिएमा महानगर तथा वडा कार्यलयले भर्ने भएतापनि कहि कतै छुटेमा सामाजिक उत्तरदायित्व बहन गरेर भर्न समेत आवश्यक रहेको बताउनुभयो ।

सार्वजनिक शौचालय तथा हात धुने  स्थानको प्रयोग, नियमित सफाइ तथा संरक्षण गरौं ।

महानगरको वडा नं ५ को वडा कार्यलय अगाडि समेत हात धुने स्टेशनको जडान गरिएको छ । वडाध्यक्ष विकास मान महर्जनका अनुसार आफ्नो कार्यलयमा आउने सेवाग्राही तथा ललितपुर जिल्ला अदालतमा आउने मानिसले बढी प्रयोग गर्ने गरेको बताउनुभयो , उक्त हात धुने स्थानको संचालन, सफाइ तथा व्यवस्थापनको जिम्मा वडाले लिएको छ ।

साबुन पानीले हात धोई सकेपछिको फोहोर पानीको निकासका लागि सडकको ढलसम्म पाईप जडान गरिएको छ ।

ललितपुरको शंखमुल क्षेत्रमा रहेको ज्यापु समाजको कार्यलय परिसरमा जडान गरिएका हात धुने स्थानमा पनि मानिसले प्रयोग गरेको राजेश महर्जनले बताउनुभयो । सो सटेशनमा पानी तथा झोल साबुनको व्यवस्था समाजले गर्दै आएको र संरक्षण गर्ने जिम्मा लिएर स्थानीय सरकारलाई सहयोग गरेको छ । विभिन्न कामका तथा भोजका निम्ति आउने मानिसले अनिवार्य रुपमा साबुन पानीले मिचि मिचि हात धुने गरेका छन् ।

ललितपुर महानगरपालिकाका नगर प्रहरीका अनुसार मुख्य कार्यलयको गेट छेउमै जडान भएको हात धुने स्थानको प्रयोग बढेको छ । दैनिक रुपमा आउने सेवाग्राही, कर्मचारी तथा नगर प्रहरीले यस स्थानमा साबुन पानीले हात धुने गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट बच्न नागरिकको चेतनाको स्तर क्रमिक रुपमा बढ्दै गएकोले साबुन पानीको प्रयोगमा वृद्धि आएको छ ।

ललितपुर महानगरका पाटन, लगनखेल, सुनाकोठी, जावलाखेल, मानभवन, एन्फा कम्प्लेक्स, लगायतका विभिन्न स्थानमा स्पर्शरहित हात धुने स्थान जडान गरेको छ । रातको समयमा केही मानिसको उश्र्रखंल व्यवहारले तोडफोड गरिएका स्थानमा फेरि बनाई संचालनमा ल्याउन लागिएको हो ।

सार्वजनिक शौचालय तथा हात धुने  स्थानको प्रयोग, नियमित सफाइ तथा संरक्षण गरौं ।

महानगरका नगर प्रहरी प्रमुख सिताराम हातेछुका अनुसार सार्वजनिक शौचालय तथा हात धुने स्थानको संरक्षण गर्नु सबै सभ्य नागरिकको कर्तव्य रहेको र त्यस्ता पूर्वाधारको संरक्षणमा नगर प्रहरीले समेत निरन्तर रुपमा अनुगमन गरेको बताउनुभयो । तत्कालले लागि मानिको भिड भाड रहने बसपार्क तरकारी बजार, जिल्ला प्रहरी कार्यलय, अस्पताल, फोहोरमैला संकलन केन्द्र लयाउतका स्थानलाई उच्च प्राथमिकता दिदै संचालनमा ल्याईएको महानगरले बताएको छ ।

Give Us Feedback