img2
बेलबारी नगरपालिकाका रैझार र मिलनटोल सफा एवं स्वच्छ टोल घोषणा

बेलबारी (मोरङ)
विश्व चर्पी दिवसको अवसरमाा मोरङ बेलबारीका दुई टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको छ । वडा नं. ८ मा रहेको ९२ घरधुरीको रैझार प्रस्तावित नमूना टोल र वडा नं. ११ मा रहेको ५३ घरधुरीको मिलन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो । 

बेलबारी नगरपालिकाका नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक ढाकाकुमाारी पराजुलीको प्रमुख आतिथ्यमा दुबै टोललाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको हो । यी दुबै टोलमा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ र मोरङ जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन २०७७ एवम् बेलबारी नगरपालिकाको पूर्ण सरसफाइ अनुगमन मार्गदर्शन र सरसफाइ नमूना टोल मार्गदर्शन (प्रस्तावित) बमोजिमका सूचकहरु पूरा भएपछि सबै घरधुरीलाई हरियो स्टिकर प्रदान गरिसकेपछि मात्र सफा र स्वच्छ टोल घोषणा गरिएको जनाइएको छ । 

रैझारमा आयोजना गरिएको स्वघोषणा समारोहमा टोल सरसफाइ व्यवस्थापन समितिको तर्फबाट तीन जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा स्थानीय कलाकारहरुले गीत र तृत्य समेत प्रस्तुत गरेका थिए । 
दुबै घोषणा समारोहमा पूर्ण सरसफाइको प्रतिवेदन प्रस्तुत गर्नुका साथे पूर्ण सरसफाइउन्मुख समुदाय बनाउनका लागि प्रतिवद्धता समेत व्यक्त गरिएको थियो । 

समुदायमा सरसफाइ श्रोत केन्द्र
नगर उपप्रमुख पराजुलीले सोही अवसरमा रैझार र मिलन टोलमा सरसफाइ श्रोत केन्द्रको समेत उद्घााटन गर्नुभयो । सरसफाइ श्रोत केन्द्रमा समुदाय खुल्ला दिसामुक्त अभियानदेखि पूर्ण सरसफाइ अभियानसम्मका क्रियाकलापको विवरण, विभिन्न पाठ्य सामग्री, श्रव्य दृष्य सामग्री, तथ्यांक र खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सन्दर्भ सामग्रीहरु उपलब्ध गराउने तयारी रहेको टोल व्यवस्थापन समितिले जनाएको छ । “अहिले केही श्रव्य दृष्य सामग्रीबाट थालनी गरिएको छ”, बेलबारी नगरपालिकामा पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघको तर्फबाट बेलबारी नगरपालिका संयोजक रीता कोइरालाले भन्नुभयो, “बाँकी सामग्री क्रमशः व्यवस्थित गर्दै यसलाई सरसफाइको सिकाइ केन्द्रको रुपमा विकास गर्ने योजना छ ।”

टोलस्तरीय पूर्ण सरसफाइ व्यवस्थापन समितिलाई निरन्तरता दिने र सरसफाइ श्रोत केन्द्रलाई समितिको सम्पर्क स्थलको रुपमा सञ्चालन गरिने टोल पूर्ण सरसफाइ व्यवस्थापन समिति संयोजक रत्नादेवी खवासले बताउनुभयो । “स्थान अभावका कारण आज सांकेतिक रुपमा उद्घाटन गरिएको छ । यसलाई एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना बनाएका छौं, र वडासँग समेत यसबारेमा कुराकानी भएको छ ।” 

बलियो अनुगमन प्रणालीमा जोड 
टोललाई सफा र स्वच्छ स्वघोषणा गर्नुअघि टोल समितिले सम्पूर्ण घरधुरीको अनुगमन गरी पूर्ण सरसफाइको सूचकका आधारमा अनुगमन तालिकामा अंक दिएको थियो । “पाँच चरणमा अनुगमन गरी सूचक पूरा गर्ने सबै घरधुरीलाई हरियो स्टिकर प्रदान गरेपछिमात्र वडाले अनुगमन गरेको हो”, टोल सरसफाइ व्यवस्थापन समितिका सचिव अनिशा खवासले जानकारी दिनुभयो, “वडा र टोलको अनुगमन समितिले सबै घरधुरीमा अनुगमन गर्दा सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरेको पाइएपछि स्वघोषणा गरिएहो हो ।” घोषणापश्चात् पूर्ण सरसफाइउन्मुख टोल बनाउनका लागि दीर्घकालीन योजना बनाई अघि बढ्न बाटो खोलेको उहाँको भनाइ छ । 

बेलबारी नगरपालिका, वडा नं. ८ का अध्यक्ष धनपति गौतमले पूर्ण सरसफाइ मार्गदर्शन २०७३, जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन र नगरपालिकाको सरसफाइ सम्बन्धी मार्गदर्शनहरुका आधारमा अनुगमन गरिएको बताउनुभयो । खुल्ला दिसामुक्त घोषणाको निरन्तरता, दिगोपन र प्रभावकारितामाथि बेलाबखत प्रश्न उठ्नेगरेको सन्दर्भमा वडाअध्यक्ष गौतमले भन्नुभयो, “पूर्ण सरसफाइ अभियानको अनुगमनका क्रममा घोषणाभन्दा पनि सरसफाइको दिगोपन, गुणस्तर र प्रभावकारितामा जोड दिएका छौं ।”


सुरक्षित चर्पी, चर्पीको समुचित प्रयोग र मर्मतसम्भार तथा स्तरोन्नति, जोखिमपूर्ण अवस्थामा साबुनन पानीले हात धुने अभ्यास र हात धुने सुविधा एवम् सामग्रीको उपलब्धता, व्यक्तिगत सरसफाइ र महिनावारी स्वच्छता व्यवस्थापन, सुरक्षित पानीको प्रयोग, खानाको सुरक्षा, घरायसी सरसफाइ र वातावरणीय सरसफाइ मुख्य सूचकको रुपमा रहेका छन् । कोरोना सन्त्रासको समयमा मास्कको उचित प्रयोगलाई समेत सूचकको रुपमा थप गरिएको छ । 
“यी मुख्य सूचकभित्र पनि अन्य विभिन्न उपसूचकहरु रहेका छन्, जसमा अंकभार दिइएको छ”, सचिव खवासको भनाइ छ, “प्रत्येक पटकको अनुगमनमा घरमा राखिएको अनुगमन तालिकामा अंक दिइन्छ । कम्तिमा दुई पटक त्यस घरले शतप्रतिशत अंक प्राप्त गरेपछि त्यस घरलाई हरियो स्टिकर प्रदान गरिन्छ ।”
बेलबारी नगरपालिकाका नगर उपप्रमुख पराजुलीले यसअघि पनि बेलबारी नगरपालिका, वडा नं. १ मा रहेका दुई वटा टोललाई खुल्ला दिसामुक्त अभियानका क्रममा नै सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरिएको भए पनि, अनुगमन प्रणाली अहिले व्यवस्थित भएको र एकरुपता कायम भएको बताउनुभयो । “अहिले जिल्ला, नगरपालिका र टोल तहमा समेत सरसफाइ अनुगमन प्रणाली व्यवस्थित भएको छ, नगरपालिकाभरिका टोल विकास संस्था र टोल सरसफाइ व्यवस्थापन समितिले कार्यान्वयनमा ल्याउनका लागि टोल पूर्ण सरसफाइ मार्गदर्शन तयार भै कार्यान्वयनमा आएको छ”, उहाँको भनाइ छ, “हामीले पनि टोलका घर घरमा गएर सरसफाइको अनुगमन गरेका छौं, गुणस्तर निकै राम्रो छ ।”

पूरा हुदैँ वर्षौ अघिको सपना 
खवास आदिवासी जनजातिहरुको मूल बसोबास रहेको रैझारलाई सरसफाइ, शिक्षा र संस्कारयुक्त नमूना बस्ती बनाउने वर्षौं अघिको सपना साकार हुने बाटोमा रहेको बताउनुहुन्छ सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष रत्नादेवी खवास । “पाँच दशकअघि म यस गाउँमा बुहारी भएर आएदेखि नै रुपान्तरित समुदायको सपना देखेकी थिएँ”, महिला सशक्तीकरणमा जोड दिंदै सरसफाइ व्यवस्थापन समितिम समेत महिलामात्र रहेको बताउँदै खवासले भन्नुभयो, “सासु ससुराले बुहारीहरुलाई घरबाहिर निस्कन दिनुभयो, पुरुषले सहयोग गर्नुभयो, र आज महिलाको नेतृत्वमा टोल सफा र स्वच्छ क्षेत्र घोषणा भएको छ ।”

यसभन्दा पनि ठूलो सपना थियो, सरसफाइलाई आयआर्जनसँग जोडेर लैजाने । सफा स्वच्छ क्षेत्र स्वघोषणा कार्यक्रममा प्रमुख अतिथिले रैझारमा आन्तरिक पर्यटन प्रवद्र्धन र आयआर्जनका लागि ‘होमस्टे’ सहितको दीर्घकालीन योजना तयार गरी नगरपालिकामा पेश गर्न अनुरोध गरेपछि रैझारवासीको भुइँमा खुट्टा छैन । “सरसफाइका माध्यमबाट सामाजिक समुन्नतिको हाम्रो सपना साकार हुने बाटोमा छ”, समिति अध्यक्ष रत्ना खवासको विश्वास छ, “हामीले एक साताभित्रै व्यवसायिक योजनासहितको दीर्घकालीन योजना तयार गर्दैछौं । गाउँलाई पूर्ण सरसफाइउन्मुख घोषणा गर्ने दिनमा नै ‘होमस्टे’ सञ्चालनको पनि आरम्भ गर्नेगरी अब अघि बढ्छौं ।”
रैझारमात्र होइन, नयाँ बस्तीको रुपमा चिनिएको वडा नं. ११ मा रहेको मिलन टोलसँगै रहेको सामुदायिक वनमा पार्क बनाउने योजना वडाले अघि सारेको छ, नगरपाालिकाले सो योजनाका लागि रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । “यस वडामा पिकनिक स्थलसहितको पार्क बनाउने योजना अनुरुप नै सामुदायिक वनमा सोही अनुसार वृक्षारोपण गरिरहेका थियौं”, वडाअध्यक्ष यमबहादुर पोखरेलले टोल सफा र स्वच्छ क्षेत्र घोषणा समारोहमा भन्नुभयो, “वन क्षेत्रसँगै रहेको बस्ती नै सफा र स्वच्छ क्षेत्र भैसकेपछि पार्क बनाउने वडाको योजनामा सुनमा सुगन्ध थपिएको छ ।”
पूर्व पश्चिम राजमार्गअन्तर्गत लक्ष्मीमार्ग सडक खण्डमा जोडिएको मिलनटोलमा पार्क, पिकनिक स्थल र रेष्टुरेण्ट सञ्चालन गर्न सकिने टोल समितिको समेत ठम्याइ छ, जसलाई समावेश गरेर टोल सरसफाइ व्यवस्थापन समिति र टोल विकास संस्थाले पूर्ण सरसफाइउन्मुख टोल विकास संस्था बनाउनेगरी दीर्घकालीन योजना समेत तयार गरिरहेका छन् । 

पूर्ण सरसफाइ अभियानको साझेदार संस्था ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम र सहजीकरण गर्ने संस्था नारी विकास संघबाट सो कार्यमा आफ्नो सहजीकरण र सहयोग रहने प्रतिवद्धता नारी विकास संघका अध्यक्ष सीता शर्मा दाहालले व्यक्त गर्नुभयो । 

Give Us Feedback