img2
पूर्ण सरसफाइ अभियानले बसाइदियो समुदायमा दिगो सरसफाइको लत

सन्दर्भ: विश्व चर्पी दिवस

विनोद धौलागिरि÷विराटनगर

झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका, वडा नं. ३, सुदामभिटाका ५० घरपरिवार रहेको दलित बस्तीको पहिचान नै डेढ वर्ष अघिसम्म ‘फोहर गाउँ’ को थियो । पूर्ण सरसफाइ अभियान थालनी भएपछि सुदामभिटा सफामात्र बनेन, बस्ती नै अरु ‘हुनेखाने’ गाउँहरुका लागि सरसफाइमा नमूना बन्यो । सुदामभिटाका युवाहरुले चर्पीको स्तरोन्नति गर्ने अभियान चलाए, महिलाहरुले घरआँगन र करेसाबारी व्यवस्थापन गरे । “अहिले सुदामभिटाको परिचय त फेरिएको छ नै, त्यहाँको दैनिकी र संस्कारमा समेत परिवर्तन आएको छ”, सुदामभिटामा पूर्ण सरसफाइ अभियान सहजकर्ता मनिष कार्की भन्नुहुन्छ, “पूर्ण सरसफाइ अभियानले जीवनपद्धति समेत सिकायो ।”

यसैगरी पहिचान फेरियो, झापाकै विर्तामोड नगरपालिका वडा नं. ६, बेलगाछी टोलको । समुदायमा पूर्ण सरसफाइको माध्यमबाट आएका परिवर्तनको बारेमा अध्ययन भ्रमण गर्न पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर तहका विद्यार्थी र प्राध्यापकहरुको टोली आइसकेपछि टोलबासीको भुइँमा खुट्टा छैन । “सरसफाइले नै टोललाई पोखरासम्म चिनाएछ”, टोल सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष अभिचन्द्र पोखरेल भन्नुहुन्छ, “वास्तवमा, सरसफाइ नै पहिचान, प्रतिष्ठा र समृद्धिको मूलद्वार रहेछ ।”

आफ्नो घरबगैचा एकफेर हेरचाह गरेपछि टोलको अनुगमन गर्नु मोरङ, बेलबारी नगरपालिका राइझारकी ७४ वर्षिया रत्नादेवी खवासको दैनिकी हो । “विहान उठेपछि अनुगमन गर्दा गाउँ सफा देखियो भने दिनभरी ढुक्क हुन्छ”, खवास खुशीसाथ सुनाउनुहुन्छ, “आज विश्व चर्पी दिवसको दिन हाम्रो टोल सफा र स्वच्छ क्षेत्र घोषणा भयो ।” 

मोरङको रतुवामाई नगरपालिका, वडा नं.६, जोरपैनीका युवाहरु अहिले विहान सबेरै सरसफाइ प्रवद्र्धनका लागि घरदैलो गर्छन् । यसैमध्येका एक सागर भण्डारी सुनाउनुहुन्छ, “दिगो सरसफाइ नै स्वस्थ र समृद्ध जीवनको आधार रहेछ । हामी हाम्रो गाउँलाई सरसफाइमा नमूना बनाउन लागिपरेका छौं ।”
झापा र मोरङमा मात्र होइन, पूर्ण सरसफाइ अभियान सहजीकरण भैरहेका तराई मधेशका झापादेखि पर्सासम्मका स्थानीय तहका बासिन्दाको सरसफाइजन्य संस्कारमा ‘देखिनेगरी’ परिवर्तन आएको छ ः गाउँहरु सफा छन्, चर्पीमा नै दिसा पिसाव गर्छन्, साबुन पानीले नियमित रुपमा हात धुन्छन् र फोहरलाई उचित तरिकाले विसर्जन गर्छन् । आफ्नो टोलको सफाइका लागि अरुमाथि भर पर्दैनन्, आफ्नो ठाउँ आफै सफा राख्नुपर्छ भन्ने उनीहरुलाई थाहा भैसकेको छ । “सरसफाइ सभ्यताको सूचक समेत हो”, रंगेली नगरपालिका, वडा न.. ७ आदर्श शुक्रबारे टोल सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको प्रतिप्रश्न छ, “आफ्नो घर आँगन सफा राख्न पनि अरुको मुख ताक्नुपर्छ भने कसरी हामी स्वाभिमानी हुन सक्छौं र ?” 

चर्पी बनाउनै नमान्नेहरु अहिले दीगो सरसफाइमा
पूर्ण सरसफाइ अभियान सहजीकरणपश्चात् पहिले चर्पी बनाउनै नमान्नेहरु अहिले दुई खाल्डे चर्पी आफ्नै लगानीमा बनाएर दीगो सरसफाइ प्रवद्र्धनमा जुटेका छन् । यस्तैमध्येको एक हो, सिराहा गोलबजार नगरपालिका, वडा नं. १ मा रहेको भुल्के बस्ती । अधिकांश वञ्चितीमा पारिएका समुदायको बसोबास भएको भुल्केमा रहेका ४६ घरमा नै खुल्ला दिसामुक्त अभियानका क्रममा विभिन्न निकायको साझेदारी र वडाको सहयोगमा एकखाल्डे चर्पी बनाइएको थियो । पूर्ण सरसफाइ अभियानको क्रममा भने सबै घरधुरीले आफ्नै लगानीमा चर्पीको स्तरोन्नति गर्नुका साथै पूर्ण सरसफाइ उन्मुख टोल बनाउनका लागि क्रियाशील रहेको पूर्ण सरसफाइ अभियानको साझेदार निकाय यू.उन. ह्याबिट्याटको जिल्ला संयोजक हरि बूढाथोकीको भनाइ छ । 

“पहिले न गाउँ सफा थियो, न त घरघरमा नै धारा । छिमेकी टोलमा जाँदा समेत यस टोलका बासिन्दाले हेलाहोचो सहनुपथ्र्यो”, टोल सरसफाइ व्यवस्थापन समितिका गंगी बि.क. पुराना दिन सम्झनुहुन्छ, “अहिले गाउँ सफा छ, समुदाय सफा र स्वच्छ क्षेत्र बन्दैछ ।” गाउँ सफा हुँदैगरेको मात्र होइन, कम्बोडियाबाट पूर्ण सरसफाइको अध्ययन भ्रमणका लागि आएको टोलीलाई समेत भुल्को बासिन्दाले आफ्ना प्रयासहरु बाँड्ने मौका मिल्यो । 

हिजो खुल्ला दिसामुक्त अभियानको क्रममा चर्पी बनाउनकै लागि फलामको च्युरा चपाउनुपरेका गौरीगञ्ज गाउँपालिका झापाको सुदामभिटा होस् या मोरङ बेलबारीको माझीगाउँ, सबैमा दीगो सरसफाइ अभियानले तीव्रता पाएको छ । “बेलबारी नगरपालिका, मोरङको माझी गाउँ अब एक साताभित्रै सबै सूचक पूरा गरेर दीगो सरसफाइसहितको सफा र स्वच्छ गाउँ घोषणा हुँदैछ”, समुदायमा पूर्ण सरसफाइ प्रवद्र्धनमा क्रियाशील रीता कोइराला भन्नुहुन्छ, “सबै चर्पीहरुको स्तरोन्नति गर्ने काम सकिएको छ, अब घरायसी सरसफाइ प्रवद्र्धन र खोर गोठ व्यवस्थापनका केही काम बाँकी छन् ।”

संघीय राजधानीको नजिकै रहेको नुवाकोट जिल्लाको किस्पाङमा पर्ने साविक मनकामना गाविस पोखरीगाउँको अवस्था पनि उस्तै छ । खुल्ला दिसामुक्त अभियानका क्रममा पापड बेल्नुपरेको पोखरीगाउँका ९० घरधुरी अहिले दिगो सरसफाइ प्रवद्र्धनमा जुटेका छन् । “हामी गाउँलाई सफा र स्वच्छ क्षेत्रसहितको सरसफाइ नमूना गाउँ बनाएरै छोड्ने प्रतिवद्धता लिएका छौं”, टोल सरसफाइ व्यवस्थापन समितिका मञ्जु तामाङ भन्नुहुन्छ, “गाउँमा रहेका सबै घरधुरीका चर्पीको स्तरउन्नति भैसकेको छ ।”
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमसँगकै साझेदारीमा नुवाकोट जिल्लामा समेत पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको छ । पूर्ण सरसफाइ अभियानअन्तर्गत नै सदरमुकाम विदुरमा रहेको त्रिशुली नदी सफाइ अभियान सञ्चालन भयो । नदी सफा गर्ने कामसँगै चर्पीको दिसाजन्य लेदोलाई नदीमा बगाउने काम पनि बन्द भयो । “सफाइमात्र होइन, वातावरण संरक्षण र पानीको स्वच्छतालाई समेत पूर्ण सरसफाइ अभियानले सघायो”, यू.एन. ह्याबिट्याटको जिल्ला संयोजक मैत्रयी शर्माको भनाइ छ, “सरसफाइ प्रवद्र्धनमा स्थानीय समुदायको अपनत्व बढाउने र सरसफाइलाई दिगो बनाउने काममा पूर्ण सरसफाइ अभियानले निकै हदसम्म सघाएको छ ।”

काठमाण्डौ उपत्यकामा नै पर्ने भक्तपुरको चांगुनारायण नगरपालिका, वडा नं. ८ मा पर्ने साविक सुडाल अहिले पूर्ण सरसफाइ प्रवद्र्धनमा छिमेकी बस्तीका लागि समेत नमूना बनेको छ । “अहिले सबै घरमा दिगो सरसफाइ सुनिश्चित गरिएको छ, घरघरै धारा छन्, गाउँ चिटिक्क पारिएको छ”, नगरपालिकाका पूर्ण सरसफाइ कार्यक्रम संयोजक सुरेन्द्र लामिछाने भन्नुहुन्छ, “नगरपालिकाले सुरक्षित चर्पीलाई अनिवार्य बनाउको छ, नयाँ घरको नक्सा पास गर्दा होस् या निर्माण सम्पन्न भएको प्रमाणीकरण गर्न होस्, सुरक्षित चर्पी आधारभूत मापदण्डको रुपमा रहेको छ ।”

लक्ष्य अनुरुपको नीति बनाउ“दै स्थानीय तह
विभिन्न अध्ययन र सर्वेक्षणहरुले देशभर करिब ५ प्रतिशतको हाराहारी घरधुरीमा आधारभूत सरसफाइ सुविधा नभउको देखाएका छन् । राष्ट्र खुल्ला दिसामुक्त घोषणा हुने क्रममा नै पूर्ण सरसफाइ अभियानको समेत विधिवत थालनी गरिएको थियो । खुल्ला दिसामुक्त अभियानको क्रममा सबै क्षेत्रबाट देखिएको हातेमालो र ऐक्यता पूर्ण सरसफाइ अभियानमा अहिलेसम्म नदेखिएको भए पनि, स्थानीय तहहरु सीमित विकास साझेदार र सहजीकरण गर्ने निकायसँगको साझेदारी एवम् आफ्नै प्रयासमा समेत अघि बढिरहेका छन् । “निजी एवम् सार्वजनिक र अन्य सबै विकास साझेदारसँग साझेदारीको ढोका खुला राखिएको छ”, झापा जिल्लामा सरसफाइ च्याम्पियनको सम्मान समेत प्राप्त गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको भनाइ छ, “नीतिगत व्यवस्था पूर्ण सरसफाइ प्रवद्र्धनका लागि आधार रहेछ ।” कमल गाउँपालिकाले अहिले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाइसकेको छ भने वडा तहमा समेत पूर्ण सरसफाइ योजना तयार गरी कार्यान्वयनमा ल्याइरहेको छ । 

कमल गाउँपालिकाले आउँदो आर्थिक वर्षभित्र सबै एक खाल्डे चर्पीहरुलाई दुई खाल्डे बनाइसक्ने नीति लिएको छ । यसका लागि टोल विकास समितिहरुलाई जिम्मेवारी समेत दिएको  भने वार्षिक नीति कार्यक्रममा सबै क्षेत्रसँगको साझेदारीलाई रणनीतिको रुपमा उल्लेख गरिएको छ ।  मोरङको बेलबारी होस् या सप्तरीको अग्नीसायर कृष्णसवरण, अथवा सिराहा जिल्लाका गोलबजार नगरपालिका नै किन नहोस्, सबैले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थामा जोड दिइरहेका छन् । 

सार्वजनिक सम्पत्तिको बढ्दो माया“
पूर्ण सरसफाइ अभियानले सार्वजनिक सम्पत्तिको माया गर्ने संस्कार सिकाएको बताउनुहुन्छ, विराट सामुदायिक अध्ययन केन्द्र झापाका पूर्ण सरसफाइ अभियान संयोजक सोमनाथ आचार्य । “गाउँघरमा रहेका पोखरी, सार्वजनिक स्थल, चोक, चौर र पार्कहरु नियमित रुपमा सफा गर्ने र त्यहाँ वृक्षारोपण गर्ने क्रम बढेको छ”, आचार्य भन्नुहुन्छ, “सरसफाइको महत्व बुझेपछि सार्वजनिक शौचालयको प्रयोगमा समेत सुधार आएको छ ।” विर्तामोडमा रहेको विराटपोखर र मधुपोखरी सफाइको उदाहरण दिंदै कार्यक्रम संयोजक आचार्य सहजीकरणको गहनता बढाउनुपर्नेमा समेत जोड दिनुहुन्छ । 

पूर्ण सरसफाइ अभियान थालनी भएका जिल्लाहरुमा सार्वजनिक र साँस्कृतिक महत्वका जलाशय र सार्वजनिक स्थलहरु नियमित रुपमा सरसफाइ गर्ने तालिका नै बनेको छ । सम्बन्धित वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुले सरसफाइलाई आफ्नो योजनामा समेटेका छन् । झापाका सञ्चारकर्मी इन्द्रसिंह राजवंशी विर्तामोडहुँदै बग्ने अदुवा खोलामा दिसाको लेदो मिसाउने काम खुल्ला दिसामुक्त अभियानको क्रममा बन्द भएको र अहिले पूर्ण सरसफाइ अभियानको सहजीकरण तीव्र बन्न नसक्दा फेरी मिसाउन थालिएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । “पूर्ण सरसफाइ अभियान निरन्तर भएन भने सार्वजनिक स्थल फेरी फोहर हुन थाल्छन्”, उहाँको भनाइ छ, “दिगोपन, सतरोन्नति र सामाजिक रुपान्तरणका लागि समेत पूर्ण सरसफाइ अभियानको निरन्तर सहजीकरण आवश्यक छ ।”

त्रिशुली नदी सफाइ अभियान होस् या धनुषा जिल्लाको धनुषधाम बजार सफाइ अभियान होस्, भक्तपुरको हनुमन्ते सफाइ अभियान होस् या झापाको मधुपोखरी सफाइ अभियान, सबैले फोहरलाई घृणा गर्ने, सफाइमा लाग्ने र सार्वजनिक सम्पत्तिको माया गर्ने वानीको विकास गरेको छ । “घरको चर्पीलाइ माया गर्न थालेपछि सार्वजनिक शौचालयको समेत समुचित प्रयोग गर्ने वानीको विकास गराउनेरहेछ”, धनुषा जिल्लामा समाज उत्थान युवा केन्द्रको तर्फबाट पूर्ण सरसफाइ अभियान संयोजक विनोद कुमार महतोको भनाइ छ, “सामुहिक रुपमा गरिने सरसफाइ अभियानले सामाजिक अन्तरक्रिया, सामाजिक एकता बढाउन र सामुहिक निर्णयमा काम गर्ने वानीको समेत विकास गराउने रहेछ ।”

सुरक्षित चर्पी :पहिलो शर्त
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार पूर्ण सरसफाइ अभियानको पहिलो चरणको रुपमा रहेको सफा र स्वच्छ क्षेत्रका सात सूचक र कम्तिमा २६ सहायक सूचक रहेका छन् । पूर्ण सरसफाइ अभियानमा सुरक्षित चर्पी पहिलो अनिवार्य शर्तको रुपमा रहेको छ । “त्यसैले हामीले पनि सबै एक खाल्डे चर्पीलाई सुरक्षित अर्थात् सेप्टिक टंकीसहितको वा दुई खाल्डे बनाउने नीति नै बनाएका छौं”, कमल गाउँपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत शुवास श्रेष्ठको भनाइ छ, “अहिले वडा, टोल विकास संस्था र साझेदार संस्थामार्फत दिगो सरसफाइ प्रवद्र्धनको काम गरिरहेका छौं ।”

नदीबाट कटान र डुवानको जोखिम बढी रहेका स्थानहरुमा उपयुक्त प्रविधिका चर्पीको निर्माणमा समेत जोड दिइएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्य बताउनुहुन्छ । “डुवान र कटान हुने ठाउँमा आधार संरचना उपयुक्त उचाइको बनाउनुका साथै डुवानपश्चात् समेत प्रयोग गर्न मिल्ने बनाउनमा जोड दिइएको छ”, उहाँको भनाइ छ, “विपद्पछि त्यसको सबैभन्दा बढी प्रभाव खानेपानी र सरसफाइमा नै पर्ने रहेछ ।”
झापा जिल्लाका झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, मोरङको रतुवामाइ नगरपालिका, विराटनगर उपमहानगरपालिका लगायतका क्षेत्रहरु डुबानको उच्च जोखिममा रहेका छन् । “आफ्नो भूगोल अनुरुप उपयुक्त प्रविधि अपनाउन सकेमा सरसफाइ सुविधा दिगो हुन सक्छ”, कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्लेको भनाइ छ, “हामीले गाउँपालिकामा मिस्त्रीहरुका लागि समेत तालिम चर्पीको मर्मतसम्भार र स्तरोन्नतिको तालिम समेत प्रदान गरिसकेका छौं ।”

दिगो सरसफाइको प्रत्यक्ष सम्बन्ध जलवायु परिवर्तनसँग समेत छ । यस वर्षको चर्पी दिवसमा दिगो सरसफाइ र जलवायु परिवर्तनको अन्तरसम्बन्धको खोजी गरी स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विभिन्न कार्यक्रम गरिरहँदा दिगो सरसफाइ प्रवद्र्धनका लागि स्थानीय सरकारले नीतिगत निर्णय गरी त्यसलाई वार्षिक नीति कार्यक्रममा समावेश गर्न सकेमा वातावरण संरक्षण र सरसफाइ प्रवद्र्धनका लागि टेवा पुग्न सक्ने देखिन्छ । 
 

Give Us Feedback