img2
वैकल्पिक ऊर्जाका कारण मुगुका गाउँमा उज्यालो

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगूमकार्मारोङ्ग गाउँपालिकामा निर्माण भएको १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघु जलविद्युत आयोजना र मुगुकै सोरु गाउँपालिकामा निर्माण भएको ३५ किलोवाट क्षमताको रुमाखोला लघु जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ । घाँसेओडार खोला लघुजलविद्युत आयोजनाबाट २१५ घरधुरी र रुमाखोला लघुजलविद्युत आयोजनाबाट ३५० घरधुरी लाभान्वित भएका छन् । 
 
१ करोड ६८ लाखको लागतमा निर्माण भएको घाँसे ओडार लघुजलविद्युत आयोजनामा केन्द्रको ६४ लाख ६० हजार अनुदान सहयोग रहेको छ भने बाँकी लागत गाउँपालिका र समुदायले जुटाएका छन् । त्यस्तै २ करोड ८३ लाख ६० हजारको लागतमा निर्माण भएको रुमा खोला लघुजलविद्युत आयोजनामा केन्द्रको १ करोड ३३ लाख अनुदान सहयोग रहेको छ भने बाँकी लागत गाउँपालिका र समुदायले व्यहोरेका छन् ।

उद्घाटनको क्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्रालय अन्तर्गत विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखाका प्रमुख सहसचिव मधुप्रसाद भेटुवालले छोटो समयमा मुगु जिल्लाको विकट गाउँमा लघुजलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युतसेवा पु¥याएकोमा केन्द्रको साथै अन्य सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले यस्ता आयोजना दिगो रुपमा सञ्चालनमा स्थानीय नागरिक तथा सरकारको भूमिका महत्वपूर्ण रहेकोले त्यसतर्फ सोच्न आग्रह गर्नुभयो ।  

कार्यक्रममा आफ्नो धारणा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले सरकारको उज्यालो नेपाल अभियानलाई सफल बनाउन केन्द्रले विद्युतीकरण गर्ने कार्यलाई तिव्रता दिएको बताउँदै अब जिल्लाको विद्युत नपुगेका बाँकी स्थानहरुमा समेत नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरणका क्रियाकलापहरु अघि बढाइने बताउनुभयो । उहाँले आयोजनालाई निरन्तर सञ्चालन गर्न आयोजनाको व्यवस्थापन तथा मर्मत सम्भार प्रभावकारी हुनुपर्ने भएकाले त्यस तर्फ विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । 

लघुजलविद्युतको उज्यालोले स्थानीयहरुमा उमंग छाएको घाँसेओडार खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष विरसिंह बुढा र रुमा खोला लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष मान बहादुर बुढा बताउँछन् । अब विद्युतीय सामाग्री सञ्चालन गर्न, विद्यार्थीहरुलाई लेखपढ गर्न सहज भएको छ भने थप विद्युतीय ऊर्जा प्रयोग गरी लघु उद्यमको माध्यमबाट आय आर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने विकल्प पनि खुलेको छ ।

कार्यक्रममा मन्त्रालयको तर्फबाट सहसचिव भेटुवालका साथै मन्त्रालयको कार्यक्रम तथा बजेट शाखा (ऊर्जा) का सिनियर डिभिजनल ईञ्जिनियर गोकर्णराज पन्थको समेत उपस्थिति थियो । त्यस्तै कार्यक्रममा केन्द्रको सामुदायिक विद्युतीकरणमा कार्यरत कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, लघुजलविद्युतका उपभोक्ताहरुको सहभागिता थियो । 

न्यू नर्मलमा केन्द्रको काममा तिव्रता

केन्द्रले कोरोनाको कहर खुकुलो भएसगैँ देशैभर नवीकरणीय ऊर्जाको गतिविधिमा तिव्रता दिएको छ । केही समयअघि मात्र नवलपरासीको सुस्तामा १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको थियो । त्यस्तै सोलुखुम्बुमा १०० किलोवाट क्षमताको सोलुखोला तुइनटार लघु जलविद्युत आयोजना सम्पन्न भइसकेको छ । रोल्पाको थवाङमा १५० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजना सम्पन्न भइ चाँडै नै शुभारम्भको पर्खाइमा रहेको छ । 

मुगुको खत्याड गाउँपालिकामा ५०० किलोवाट क्षमताको खत्याड खोला साना जलविद्युत आयोजना पनि निर्माण सम्पन्न हुने चरणमा रहेको छ । त्यसैगरी जुम्लामा २०० किलोवाट क्षमताको गिरी खोला र १ मेगावट क्षमताको चुकेनी खोला साना जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन् । उज्यालो नेपाल अभियान अन्तर्गत दुइवर्षभित्र सबैमा विद्युतको पहुँच पु¥याउने सरकारको अभियानलाई सघाउनको लागि केन्द्रले विद्युतीकरण सम्बन्धी गतिविधिलाई तिव्रता दिएको कार्यकारी निर्देशक अधिकारी बताउनुहुन्छ । 

केन्द्रले राष्ट्रिय प्रशारण लाइन नपुगेको ९७ वटा स्थानीय तहमा २०० वटा मिनीग्रिड आयोजना जडान गर्ने लक्ष्य लिएको छ । त्यस्तै खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच विस्तारको लागि सुधारिएको चुलो, बायोग्यास विद्युतीय चुलो, फोहरबाट ऊर्जा जस्ता गतिविधिलाई समेत तदारुकताका साथ अघि बढाइएको छ । नवीकरणीय ऊर्जाको निर्धारित लक्ष्य हासिल गर्न सम्पूर्ण सरोकारवालाहरुको सक्रिय सहयोग आवश्यक पर्ने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ ।


 

Give Us Feedback