img2
वायु प्रदूषण सम्बन्धि विज्ञान सम्वाद कार्यक्रम सम्पन्न

आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले (नास्ट) आयोजना गरेको विज्ञान सम्वाद कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल्ली जुम मार्फत भएको यस कार्यक्रमको शीर्षक "वायु प्रदूषण: तुँवालो, समस्या र समाधान" रहेको थियो । यस कार्यक्रमको हाइलाइट नास्टका कार्यक्रम संयोजक लुना वज्रले गर्नुभयो भने कार्यक्रम संचालन नास्टका वैज्ञानिक डा. टिस्टा प्रसाई जोशीले गर्नु भएको थियो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा. सुनिल बाबु श्रेष्ठले कार्यक्रमको शुरुवातमा आफ्नो मन्तव्य राख्दै यस कार्यक्रममा सबैलाई स्वागत गर्नुभयो । उहाँले स्थानिय तहलाई फोहोर बालेर व्यवस्थापन गर्ने कामलाई रोक्न कानुन बनाउन र रुख रोप्ने अभियानको सुझाव दिनुभयो ।

कार्यक्रममा पहिलो वक्ता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका शिक्षाविद् दिनेश भाजूले नेपालको वातावरण प्रदूषणको मुद्दा उठाउनुभयो । उहाँले नेपालमा भएको डढेलोको तथ्याड़क प्रस्तुत गर्दै जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।  

त्यसैगरी वायु प्रदूषणले मानव स्वस्थयमा पर्ने असरको बारेमा बीर अस्पतालका डा. आशीष ढुंगानाले बोल्नुभयो । उहाँको अनुसार अहिले प्रदूषणको कारण चुरोट र वायु प्रदूषणबाट हुने फोक्सोको क्यान्सरको सम्भावना उस्तै रहेको छ । प्रदूषित हावामा जन्मेका बच्चाहरुको फोक्सो नै सानो हुने जस्ता गम्भीर असर वायु प्रदूषणको रहेको उहाँले हाइलाइट गर्नुभयो । 

काठमाडौंमा वायु प्रदूषण अवस्था राम्रो नभएको धेरै समय भएको र बानी र व्यवहारमा सुधार गरे प्रदूषण धेरै कम हुने वातावरण विभागका उप महानिदेशक इन्दु बिक्रम जोशीले बताउनुभयो । सरकारले काम गरिरहेको र समस्या अवश्य समाधान गर्ने र प्रदूषण अझै नघटे स्कूल र सवारीसाधन बन्द गर्ने जस्ता काम गर्ने उहाँले उल्लेख गर्नुभयो । 

यूरोपियन उत्सर्जन मापदण्ड (यूरो ६) यहि आर्थिक वर्ष भित्र लागु गर्ने प्रयासमा रहेको वन तथा वातावरण मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर नविन पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार धेरै वर्ष प्रयोग गरेको वा स्तर हिन भएको घर र सडक बनाउँदा प्रयोग गर्ने मेशीनहरुले प्रदूषण निकाल्ने हुनाले त्यसको जाँच र अनुगमन हुनुपर्ने हुन्छ । 

'खुला फोहोर बालेर काठमाडौं उपत्यकामा कति असर पर्छ' भन्ने विषयमा ललितपुर महानगरका वातावरणीय ईन्जिनियर प्रदिप अमात्यले चर्चा गर्नुभयो । धेरै जसो मानिसले फोहोर व्यवस्थापन गर्न फोहोर बाल्ने उहाँले बताउनुभयो । त्यैमाथि कबाडिले नि नलिने चाउचाउ बिस्कुटका खोल, करेन्ट र अरु सुर्ति पर्दाथका खोल र रिचार्ज कार्ड जस्ता फोहोरलाई धेरै बालिने गरिन्छ । यस्तो फोहोरको व्यवस्थापन गर्न सरकारले उत्पादन गर्ने कारखानाले नै फिर्ता लिनुपर्ने जस्तो कानुन बनाउन उहाँ सुझाव दिनुभयो । उहाँले ठोस फोहोर व्यवस्थापन ऐन र अरु कानुनको पनि चर्चा गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागको प्रमुख डा. रेजिना मास्केले वातावरण विभागले गरिरहेको कामको चर्चा गर्नुभयो । वातावरण विभागले उत्सर्जन कारक, मीथेन उत्सर्जन कारक, डीजल वाहन उत्सर्जन अध्ययन, जंगल आगो र उत्सर्जन र खुला बालिने बाली अवशेष जस्ता अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

पाटन बहुमुखी क्याम्पसका वातावरणीय विज्ञान विभाग प्रमुख डा. शिला मास्केले ग्लोबल डाटा एसिमिलेशन प्रणालीको बारेमा जानकारी दिनुभयो । अहिले काठमाडौं उपत्यकामा स्थिर प्रदूषकको कारण उच्च स्वास्थ्य जोखिम भएको उहाँले बताउनुभयो । 

टोखा नगरपालिकाको फोकल व्यक्ति लोकेन्द्र आचार्यले कार्यक्रमको अन्तिममा आफ्नो नगरपालिकामा भइरहेको कामहरुको चर्चा गर्नुभयो । उहाँको अनुसार कौसी खेतीको प्रोत्साहन, जङ्गल आगलागि न्यूनीकरण, आगलागि टास्क फोर्स बनाउन युवालाई तालिम जस्ता कामहरु नगरपालिकाले गरिरहेको छ । 

Give Us Feedback