img2
कम्पोस्ट मल निर्माणसँग जोडिएका केही तथ्यहरू

कम्पोस्ट मल निर्माणसँग जोडिएका केही तथ्यहरू

- मनोज न्यौपाने 

“कम्पोस्ट” भनेको जैविक तत्वलाई प्राकृतिक प्रक्रियाबाट पकाई मुल्यवान बनाइएको माटोलाई जीवन दिने धूलो हो । जैविक फोहरहरूलाई वातावरणमा ह्रास नआउने गरी गलाएर कम्पोस्ट निर्माण हुने भएकोले कम्पोस्ट निर्माणलाई फोहरमैला व्यवस्थापनको एउटा अभिन्न पाटोको रूपमा लिने गरिन्छ । यसरी उत्पादित कम्पोस्टलाई जमिन वा माटोमा प्रयोग गर्दा कुनै असर गर्दैन । विभिन्न विधि अवलम्बन गरी व्यक्तिगत रूपमा घरको सानो कुना देखि ठुलो क्षेत्र प्रयोग गरी व्यवसायिक रुपमा पनि कम्पोस्ट निर्माण गरिएको पाइन्छ । हेर्दा सहज तरिकाले सजिलै घरमा कम्पोस्ट निर्माण गर्न सकिने जस्तो देखिए पनि यससँग जोडिएका विभिन्न आयाम, विधि र तरिकाहरूलाई अवलम्बन नगर्ने हो भने राम्रो कम्पोस्ट निर्माण हुँदैन ।  विशेष गरेर व्यक्तिगत रुपमा घरमा कम्पोस्ट निर्माण गर्दा धेरै कुरामा हेलचेक्र्याइँ गर्दा राम्रो कम्पोस्ट मल नबन्दा मानिसहरूमा नैराश्यता उत्पन्न भएको देख्न पाइन्छ ।

कम्पोस्ट निर्माण गर्दा पहिलो बुझ्न पर्ने कुरा त यो कुनै नयाँ प्रकिया होइन भन्ने हो । वातावरणमा झर्ने घासपातहरु, मरेका जीवजन्तु विस्तारै कुहिएर जाने प्रकियालाई एउटा विधिको रुप दिएर कम्पोस्ट निर्माण गर्ने प्रकिया सुरु भएको पाइन्छ । आधुनिक कम्पोस्ट निर्माणको श्रेय भने इंग्ल्यान्डका सर अल्बर्ट होवार्डलाई जान्छ । सन् १९२४ देखी १९३१ मा भारतको इन्डोरमा गरिएको सफल परिक्षणसंगै कम्पोस्ट निर्माण प्रक्रियाले बैज्ञानिक विधि पायो र आम कृषकले माटोलाई जीवन प्रदान गर्ने वस्तु ।

बढ्दो सहरीकरणसंगै सागुरिएको सहरमा जैविक फोहर व्यवस्थापन एउटा ठूलो समस्या रूपमा उत्पन्न भएपछि श्रोतमै फोहरको न्यूनिकरण गर्ने उद्देश्यले कम्पोस्ट बिनको डिजाइन पाइन्छ । ठूलो क्षेत्रफल प्रयोग हुने प्रक्रियालाई सजिलो गरेर एउटा भाडोमा सिमित गर्ने उदेश्यले कम्पोस्ट बिनको निर्माण गरिएको हो । हावाको उपस्थिति ( एरोबिक) विधिमा चाँडो मल बन्ने भएकाले प्वालहरु राखेर हावा खेल्न मिल्ने गरि निर्माण गरिएको कम्पोस्ट बिनमा मल पाइसकेपछि मात्र झर्नको लागि जाली राखिएको हुन्छ । सजिलो र सरल हुने भएकाले कम्पोस्ट बिन सहरमा लोकप्रिय भएपनि अरु भाडोमा कम्पोस्ट मल बन्दै नबन्ने, ढिलो बन्ने भने हुदै होइन । फुटेका, प्रयोगमा नआएका प्लास्टिकका भाडो, बोराहरूको प्रयोग गरेर पनि कम्पोस्ट मल निर्माण गर्न सकिन्छ । 

आम मानिसमा अर्को कम्पोस्टसँग जोडिएर आउने गलत धारणा भनेको कम्पोस्टको निर्माण जैविक फोहर कुहिएर हुन्छ भन्ने हो । तर वास्तवमा जैविक फोहर पाकेर कम्पोस्टको निर्माण हुन्छ । सागसब्जी जन्य फोहर,  हरियो घाँसमा नाइट्रोजन धेरै हुने हुनाले यसलाई हरियो फोहर र  सुकेका पात पतिङ्गर, पराल , कागज, काठको धूलोमा धेरै कार्बन धेरै हुने भएकोले खैरो फोहर भनिन्छ । हरियो र खैरो फोहरको मात्रा मिलेपछि विस्तारै जम्मा पारेर राखिएका फोहरहरूको तापक्रम बढ्दै जान्छ । यसरी बढेर सुरुका केही हप्तामै फोहरको तापक्रम ७० डिग्री सेन्टिग्रेड सम्म पुग्नु पर्दछ । फोहरको मात्रामा कम भएमा तापक्रम नबढ्न पनि सक्दछ सो अवस्थामा फोहरको मात्रा थप्ने गर्नु पर्दछ भने प्रत्येक ४, ५ दिनमा एक चोटि पल्टाउनु पर्दछ। तापक्रम बढेमा कम्पोस्ट प्रक्रिया चाँडो हुन्छ ।यसरी बढ्दै गएको तापक्रम केही हप्तामा घटेर कोठाको तापक्रममा आइ पुग्छ । र यसरी पाकेर बनेको कम्पोस्टमा रोगजन्य जीवाणुहरू पनि मर्दछ । तर रोथेंनबर्गरका अनुसार  बढी पाक्छ वा चाँडो बन्छ भनेर ७० भन्दा माथि तापक्रम जानु राम्रो हुँदैन यस्तो अवस्थामा फोहरलाई कम्पोस्टमा बदल्ने सूक्ष्म जीवाणुहरू मर्न गएर झन् ढिलो हुन्छ ।

पाईलको तापक्रम घटेर कोठाको तापक्रममा पुगेर कम्पोस्ट निर्माणका लागि हालिएका वस्तुहरू चिन्न नसकिने भएपछि कम्पोस्ट निर्माण भयो कि भन्ने जनाउ हुन्छ । तर यत्तिकैमा कम्पोस्ट भयो भन्ने चाहिँ होइन । पाईलको आकार घटेर एक तिहाइ हुनु, माटोजस्तो गाढा खैरो रँग सँगै माटोजस्तो नरम, खुकुलो हुनुका माटो जस्तै गन्ध आउनु पनि कम्पोस्ट बनेको जानकारी दिने सूचक हुन । तयार भएको कम्पोस्ट वा किनेर लाएको कम्पोस्टमा पनि कुनै एउटा वनस्पतिको बीउ उमारेर हेर्ने वा प्लास्टिकको झोलामा सिलबन्दी गरेर केही दिन राखेर खोल्दा पनि कुनै गन्ध आएन भने कम्पोस्ट तयार भएको थाहा हुन्छ । तयार भएको कम्पोस्टमा केही मात्रामा पानी छम्केर ७, ८ दिन सम्म हेर्दा पनि त्यसमा तापक्रमको वृद्धि भएन भने पनि कम्पोस्ट निर्माण भएको भन्ने जानकारी हुन्छ । 

कम्पोस्ट निर्माण गर्दा भुसुना, झिगाको समस्या बढ्नुका साथै दुर्गन्ध फैलिन्छ भन्ने आम मानिसहरुको बुझाई रहेको पाइन्छ । विशेष गरेर कम्पोस्ट निर्माण गर्न प्रयोग गरिएको भाडोको सरसफाई र यसमा हालिने वस्तुहरुको उचित छनोट भयो भने यस्ता समस्याहरू आफै साम्य भएर जान्छ । हरेक जैविक वस्तु कुहिने हुन्छ र त्यसबाट कम्पोस्ट निर्माण गर्न सकिन्छ भन्ने सोचले गर्दा चिल्लो तेल, माछा, मासु, दुग्ध पदार्थ, बिग्रेको अन्डा आदि जस्ता वस्तुहरु हाल्ने परिपाटी धेरैको हुन्छ । सामान्यतया, भान्साबाट निस्किने अन्य फोहर भन्दा ढिलो गल्ने र झिगा, भुसुनाहरु आफुतिर आकर्षित गर्ने भएकाले यस्ता वस्तुहरु नहालेको राम्रो हुन्छ । त्यस्तै गरि पानीको मात्रा बढी भएको वा हरियो पदार्थ बढी भएको फोहर बढी मात्रामा प्रयोग गरेमा पनि भुसुना र दुर्गन्धको समस्या बढ्छ । यस्तो अवस्थामा भुस, काठको धुलो, पातपतिन्गर, कागज लगायत वस्तुहरु जैविक फोहर संगै मिसाएर हाल्ने र माथिबाट पनि छर्केर ढाकेमा दुर्गन्ध र भुसुना लाग्ने समस्या कम गर्न सकिन्छ । कम्पोस्ट निर्माण गर्न प्रयोग गरिने भाडो र यसको वरिपरिका स्थानहरु सफा राख्ने बानीले पनि यस्ता समस्यालाई धेरै हद सम्म कम गर्दछ ।

एउटा भाडोमा सजिलै घरमै आफैँ तयार गर्न सकिने कम्पोस्ट आफैमा पूर्ण मल वा रासायनिक मल जस्तो चाहिँ होइन । रासायनिक मलमा बिरुवाले लिन सक्ने गरि रासायन भएपनि यसले माटोलाई फाइदा गर्दैन भने कम्पोस्टले माटोलाई जैविक वस्तु प्रदान गर्दछ, गद्द्यौलालाई आकर्षित गरि माटोलाई उर्बर र फुर्र बनाउछ । माटोलाई जीवन र बिरुवालाई पोषण दिने यस वस्तुको निर्माणले फोहर बिसर्जनको समस्यामा कमि आउन मद्धत गर्दछ भने कौसी खेतीमा यसको प्रयोगले घरलाई रसायानबाट टाढा राख्दछ । मल किन्ने पैसाको वचतका साथै कौसी खेतीले तरकारी किन्ने खर्च पनि कटौती हुन्छ । असल छिमेकी र सभ्य नागरिकको परिचय चाहिँ आफै जोडिएर आउने फाईदामा पर्द्छन् । कार्बन उत्सर्जन कम गर्न सहयोग गर्ने यस कामले जलवायु परिवर्तन कम गर्न अदृश्य रुपमा टेवा प्रदान गर्दछ । 

 

 

 

Give Us Feedback