img2
फोहोर पानी प्रशोधन र यसको अपरिहार्यता

 

मनोज न्यौपाने  तथा  सुबास ढकाल

  ग्रेट हिमालयन रिसर्च एण्ड कन्सल्ट

विश्वको २ तिहाइ भाग पानीले बनेको भएपनि यसको करिब ३% मात्र मानवीय प्रयोगको लागि योग्य रहेको छ । त्यही ३% मध्य पनि लगभग १% मात्र मानिसहरूलाई सहज तरिकाले उपलब्ध छ । यही १% पानीको श्रोत मध्य एक हिमाल र यसबाट बहने नदीहरू नेपालमा हुँदा हामी आफैलाई जलस्रोतको धनी भन्दै मक्ख पर्छौ । तर जलवायु परिवर्तन सँगै बढ्दो जनसङ्ख्या तथा थपिदो उद्योग, कृषि तथा ऊर्जा क्षेत्रको मागले गर्दा विस्तारै जल सङ्कट बढ्दै छ । यससँगै विभिन्न क्षेत्रमा प्रयोग भएको “फोहर पानी” लाई बिना प्रशोधन सोझै खोला नालामा मिसाउने कार्यले गर्दा सजिलै उपलब्ध भएका पानीका स्रोतहरू पनि दूषित हुँदै गएका छन् । हाललाई यसको असर तुरुन्तै नदेखिएको भए पनि मन्ध विषको रूपमा यसले भित्र भित्रै ठूलो असर गर्दै छ भने यसको असर देखिने समय सम्म कुर्दा धेरै ढिलो भइसकेको हुनेछ ।

टिलेले सन् २०१४ दिएको परिभाषा अनुसार यसलाई घर, व्यवसाय, उद्योग तथा कृषि क्षेत्रमा हुने मानवीय क्रियाकलापद्वारा गुणस्तरमा प्रतिकूल असर परेको पानीको समग्र रूपलाई लीन सकिन्छ । सजिलो परिभाषामा यसलाई घर, उद्योग, कलकारखानाबाट विसर्जन गरिएको ढलको रूपमा बुझ्न पनि सकिन्छ । अन्य विकासका पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा पर्ने हुनाले नेपाल जस्ता न्यून आय भएको देशहरूमा फोहरपानीको प्रशोधन ८ % भन्दा पनि कम हुने गरेको यूएनले  सन् २०१७ मा प्रकाशित एक प्रतिवेदनले देखाएको छ । विशेष गरेर शहरी क्षेत्र, अस्पताल तथा उद्योगहरूबाट निष्कासित फोहर पानी विना प्रशोधन सिधैँ खोला-नालामा मिसिने गरेको स्पष्ट देख्न सकिन्छ । फोहर पानी सँगै उत्सर्जित हानिकारक जैविक तथा रासायनिक प्रदूषकहरू पनि खोलानालामा मिसिन पुग्छ । यसको प्रत्यक्ष असर त्यस पानीको श्रोतमा निर्भर रहने मानिस देखि जीवजन्तुले भोग्नेछन् भने सीमित प्रयोग योग्य पानीको उपलब्धतामा कमी आउनेछ ।

नेपालमा हाल विभिन्न क्षेत्रमा प्रयोग हुने पानीको मुख्य श्रोत भनेको खोलानाला नै हो । दैनिक प्रयोग देखि कृषिमा सिँचाई गर्न, ऊर्जा उत्पादन गर्न देखि पर्यटन विकासमा खोलानाला र यसमा बहने पानीले ठूलो प्रभाव पारेको छ । नेपालमा अझै पनि झाडा पखाला, टाइफाइड, हैजा जस्ता पानीबाट सर्ने रोगहरूले समय समयमा महामारीको रूप लिने गरेकोमा माथिल्लो तटीय क्षेत्रमा मिसिएको प्रदूषण युक्त पानीको प्रयोगले तल्लो तटीय क्षेत्रमा भयावह अवस्था सृजना गर्न सक्दछ ।यस्तै गरेर कृषि भूमिमा फोहरपानीको सिँचाइले गर्दा माटोको उर्वरा शक्तिमा ह्रास, कृषि उपजमा कमीका साथै मानवीय स्वास्थ्यलाई पनि प्रतिकूल असर पार्नेछ ।

यस्तै गरेर फोहर पानीलाई विना प्रशोधन सिधैँ अन्य खोलानाला मिसाउने प्रचलनको असर र्याफ्टिङ, क्याकिंग जस्ता साहसिक पर्यटनका क्षेत्रमा सोझै पर्नेछ भने दूषित खोलानालाको कारण विस्तारै प्राकृतिक सम्पदा र यसको आकर्षणमा मुख्य भर पर्ने नेपालको पर्यटनलाई पनि ठूलो क्षति पुर्याउनेछ । पर्यटन क्षेत्रलाई पुग्ने यस्तो ठूलो असरको धक्का पुरै नेपाली अर्थतन्त्रले चुकाउनु पर्ने छ । यस्तै गरेर कुनै पनि उद्योग सञ्चालन गर्दा पानीले एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, चाहे त्यो कच्चापदार्थ उत्खनन वा उत्पादनमा होस् या सामाग्रीहरूको उत्पादन होस् । जलचर प्रणालीमा पर्ने प्रभाव त एकदमै ठूलो नै हुने भयो । जलचर सँगै खोलानालाको पानीमा आश्रित वन्यजन्तुहरू पर्ने असरहरू त नेपालमा गणना नै भएको छैन ।

यस हिसाबले फोहर पानी र यसको प्रशोधन नेपालको लागि एक अपरिहार्य कार्य भइसकेको अवस्था छ । प्रशोधन केन्द्र स्थापना र यससँग सम्बन्धित विभिन्न अवयवले गर्दा हाल देशभरका हरेक स्थानीय क्षेत्रमा यसको स्थापना र सञ्चालन सम्भव नभएपनि कम्तीमा औद्योगीकरण र सहरीकरणले प्रभाव पार्दै गएका क्षेत्रमा भने यस सम्बन्धी कार्यलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । अहिले देखि नै यस्ता क्षेत्रहरूको पहिचान, दूरगामी योजना र त्यस क्षेत्रहरूमा यस सम्बन्धी न्यूनतम पूर्वाधारहरूको निर्माणमा जोड नदिने हो । फोहर पानी प्रशोधन देशलाई कति महङ्गो पर्दछ भन्ने कुरा बागमतीको फोहर पानी प्रशोधनका लागि हाल सम्म खर्चिएको रकमले प्रमाणित गरिसकेको छ । अन्य क्षेत्रमा भने सङ्कलन गरिएको फोहरमैलालाई कम्तीमा खोला तथा यसका आसपासका क्षेत्रहरूमा विसर्जन नगर्ने र घर निर्माण गर्दा कम्तीमा त्यसबाट निष्कासित हुने तरल फोहरहरू सङ्कलन तथा व्यवस्थापनको लागि सेप्टी ट्यांक तथा सोक पिटको अनिवार्य गर्नाले पानीका श्रोतहरूलाई दूषित हुनबाट रोक्न सकिन्छ ।

नेपालको परिवेशमा फोहरपानी उत्सर्जन गर्ने मुख्य क्षेत्र उद्योग रहेकाले यसको साथ र सहयोग बिना भने नेपालले फोहरपानी प्रशोधनमा उल्लेख प्रगति हुन सक्ने अवस्था देखिँदैन । फोहर पानी उत्सर्जन र यसलाई अन्य स्रोतमा मिसाउनका लागि न्यूनतम हुनु पर्ने मापदण्ड यस अघि नै तयार भएको पनि यसको पालना र अनुगमन गराउने दुवै पक्षको कमजोरी देखिन्छ । फोहर पानी र यससँग सम्बन्धित समस्यालाई छुट्टै हेर्नु भन्दा पनि उद्योगबाट निष्कासन हुने सम्पूर्ण फोहरहरू व्यवस्थापन गर्नका उद्योगलाई प्रोत्साहन गर्नु उपयुक्त देखिन्छ । यसो गर्न सकेको खण्डमा उद्योगबाट निस्किने फोहर पानी मात्र नभई उद्योगबाट निष्कासित ठोस फोहरहरू पनि पानीमा मिसिएर गर्ने प्रदूषणलाई पनि रोक्न सकिन्छ । यसो गर्नका लागि उद्योगबाट निक्लिने कुनै पनि फोहर उद्योग भित्र प्रशोधन गर्नका लागि चाहिने सामानहरू आयातमा पूर्ण रूपमा छुट तथा सहुलियत, यस्ता खालका उद्योग खोल्न पूर्ण रूपमा सहजीकरण तथा त्यस्ता उद्योगहरूबाट उत्पादित सामग्रीहरूलाई छुट्टै स्टिकरको व्यवस्था आदि जस्ता महत्वपूर्ण पहलकदमी कार्य हुन् सक्दछ । 

पानी आफैमा जीवनको लागि प्रमुख घटक हो ।यसमा हुने प्रदूषणले सम्पूर्ण क्षेत्रलाई नै असर गर्दछ भने यसको बचाउको लागि पनि सम्पूर्ण क्षेत्रको उत्तिकै योगदान चाहिन्छ । सरकारबाट दूरगामी योजना तथा अनुगमन, उद्योग व्यवसायबाट स्वतः स्फुर्त रूपमा यस सम्बन्धी व्यवस्थाको पालना तथा आम सर्वसाधारणबाट आफ्नो क्षेत्रबाट गर्न सक्ने यथाशक्य सहयोगबाट मात्र यस समस्यालाई कम गर्न सकिन्छ । पानी आफैमा हरेक मानिस र हरेक क्षेत्रको लागि महत्वपूर्ण कुरा भएकोले गल्ती गर्ने छुट कुनै क्षेत्रलाई छैन ।   

 

 

Give Us Feedback