img2
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन किन र कसरी ?

- डा. दीपेन्द्र जोशी

आज विश्व वातावरण दिवस “एउटै पृथ्वी” (#OnlyOneEarth) भन्ने नारासहित वातावरण संरक्षण सम्बन्धि कार्यक्रम गरेर यस दिवस मनाईंदै

आफू जन्मेको, केटाकेटीमा खेलेको, पढेको र हुर्केको गाउँठाउँ सबैलाई प्यारो लाग्छ । हामीमध्ये केही त्यतै बसोबास गर्छौं । अरू शहरतिर बस्ने गर्छौं; केहीले बसाइँ सरेका छौँ, त्यहीँ रमाएका छौँ । बाहिरतिर बसे पनि हामी आफ्नो थातथलोसित गाँसिएका हुन्छौँ । थातथलोका रुख–बिरुवा, खोलानाला, पोखरी, बारी, पानीको मुहान, पँधेरा, खेत, खलिहान, बगैँचा, वनजङ्गल, चुचुरा सम्झिरहन्छौँ । बेलाबखत थातथलो फर्कन्छौँ । फर्कंदा हामी आफ्ना गाउँठाउँमा प्राकृतिक स्रोतहरू, सामाजिक व्यवस्था र व्यवहार, जीवनस्तर र जीवनयापनका साधनहरूमा परिवर्तन भएको पाउँछौँ । मानव समाज सधैँ परिवर्तनको क्रममा छ, फेरबदल भइरहेको छ । भइरहेका परिवर्तनबारे हामी सबैको चासो रहन्छ । यिनै चासोहरूले हामीलाई परिवर्तनप्रति सचेत र अभ्यस्त रहन सिकाउँछन् ।

बढ्दो जनसङ्ख्याको चाप, शहरीकरण र प्राकृतिक स्रोतहरूको दोहनका साथै हाम्रो आनै जीवनशैलीमा आएका परिवर्तनहरूका सूचक यस्तो सूचीमा पर्छन् । यस्तो एउटा परिवर्तन जलवायुमा भइरहेको छ । यो क्रम आजभन्दा साढे दुई सय वर्ष जति अघि सुरु भएको हो । सन् १७७० मा बेलायतमा पहिलो औद्योगिक क्रान्ति सुरु भएपछि जब वायुमण्डलमा भएका ग्यासहरूको मात्रा बढ्न थाल्यो र त्यसले वायुमण्डलको तापक्रम बढाउँदै जलवायुमा असर पार्न थाल्यो, त्यसबेला सुरु भएको वायुमण्डल तातो हुने क्रमको असर केही दशकयता देखिन थालेको छ । भूमण्डलमा हिजो भएका र आज हुँदै गरेका क्रियाकलाप जलवायु परिवर्तनका लागि जिम्मेवार छन् । यो कुनै निश्चित भौगोलिक क्षेत्रको नभई पूरै विश्वले भोगिरहेको समस्या हो । समस्या भूमण्डलीय भए पनि जलवायु परिवर्तनका प्रभावहरू स्थानीय स्तरमा पर्छन् । हाम्रै गाउँ–शहरमा तापक्रम वृद्धि, अनावृष्टि, खण्डवृष्टि र खडेरीको क्रमिकता, वर्षा हुने दिनहरूमा कमी, हाँडीघोप्टे वर्षा हुने घटनामा वृद्धि, तुसारो पर्ने दिनहरू कम हुँदै गएको हामीले अनुभव गरेका छौँ । पानीका मुहानहरू सुक्ने, बाढी–पहिरो र आगलागीका घटनाहरू बढ्ने, धानको रोपाइँ गर्न ढिलो हुने, अन्नपात र फलफूलहरूको उत्पादन घट्ने, चिउरी र आँपमा फूल चाँडै लाग्ने अनि अन्न र तरकारी बारीमा कीरा र रोगहरू बढ्दै गरेका थप अनुभव छन् । यी सबै घटनाहरू कुनै न कुनै रूपमा जलवायु परिवर्तनका कारण पनि हुन् ।

विश्वकै उच्च हिमशृङ्खलाका साथै विभिन्न पारिस्थितिक प्रणालीहरू पाइने नेपालमा जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष-अप्रत्यक्ष कस्तो पर्नेछ र परिसकेको छ भनेर खास गरी जलचक्रको चरित्रमा बुझ्नु जरूरी छ । मनसुनी वर्षाको समयमा पहाडी शृङ्खलाबाट भूक्षय भई लाखौँ टन माटो बग्ने प्राकृतिक प्रक्रिया अनन्तकालदेखि निरन्तर चलिरहेको छ । जलवायु परिवर्तनका कारण जलचक्रमा फेरबदल हुन पुग्यो भने यस्ता प्रक्रियाहरूमा कस्तो असर पार्ला ? कस्ता चुनौतीहरू उत्पन्न होलान् ? यस्ता प्रश्नहरूको उत्तर खोज्न जरूरी भए पनि जवाफ किटान गर्न भने सजिलो छैन । जलवायुमा हुने परिवर्तनले जलचक्रका प्रक्रियाहरूमा प्रभाव पर्छ । वर्षाको चरित्रमा फेरबदल हुन्छ । फलस्वरूप बाढी र सुक्खाका घटनाहरू छिटो–छिटो हुन थाल्छन् । हिउँ पर्ने, जम्ने र पग्लिने दर घटबढ हुन गई हिमनदीहरू प्रभावित हुन सक्छन् । 

जलवायु हाम्रो जीवन र दिनचर्यासँग अभिन्न रूपले गाँसिएको छ- धानको बेर्ना राख्न आकाशमा बादल लाग्यो वा लागेन, आज बिस्कुन सुकाउँदा पानी पर्छ वा पर्दैन जस्ता निर्णय र कामहरू मौसम र हावापानीसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । स्थानीय स्तरमा जलवायु परिवर्तन कसरी भयो र हुँदै गरेको छ अनि हाम्रो प्राकृतिक स्रोत, साधन, दिनचर्या र जीवनयापनमा त्यसको के-कस्तो र कसरी प्रभाव पर्दैछ महत्वपूर्ण प्रश्न हुन् । यसबारे जानकार र सचेत हुनु हाम्रा लागि जरुरी छ । यस्ता जानकारीले हामीलाई जलवायु परिवर्तनको प्रभावसित अभ्यस्त रहन सक्षम बनाउँछ । नेपालमा जलवायु परिवर्तनको प्रभावबारे चर्चा गर्दा ध्यान राख्नुपर्ने प्राकृतिक विज्ञानसम्मत पक्षहरू हुन्- (क) भौगोलिक बनावट, (ख) तापक्रम र वर्षाको चरित्र, र (ग) नदीप्रणाली । पानीको उपलब्धता र बाढी–पहिरोको प्रभाव नेपालको भौगोलिक बनावट र विविधता अनुसार फरक-फरक हुने गर्छ । यो प्रभावको स्तर सामाजिक चरित्रमा पनि त्यत्तिकै भर पर्छ । 

जलवायु परिवर्तनः तथ्य के; मिथ्या के ?

विश्व परिवर्तनशील छ । निरन्तर परिवर्तन भइरहनु नै यसको स्वभाव र विशेषता हो । तर परिवर्तनको गति अपर्झट र अस्वाभाविक रूपमा घटी वा बढी हुन गयो भने दुर्घटना हुनसक्छ । यताका दिनमा पृथ्वीको औसत तापमान छिटोछिटो बढ्दै गएको अनुभव गर्न थालिएको छ । त्यसले विश्वलाई उष्णीकरणको दिशातर्फ डोर्याउँदैछ । केही दशक पहिलेसम्म विश्वव्यापी उष्णीकरणका कथा वा कथन ‘हो’ वा ‘होइनन्’ को द्विविधामा थिए । तर आज विश्व उष्णीकरण र जलवायु परिवर्तनका कुरासँग विश्व जनमत लगभग सहमत भइसकेको छ । 

स्थापित मान्यता: 

१. विश्वव्यापी उष्णीकरण अब मिथ्या हैन, सत्य सावित भएको छ, यसको वास्तविकता स्वीकार गरिएको छ । सम्पूर्ण विश्वको जलवायु परिवर्तन भइरहेको छ, त्यो पनि तीव्र गतिमा ।

२. यो हामी नेपालीहरूका लागि भने केही नौलो विषय हो । हामीसँग वैज्ञानिक तथ्याङ्कहरू न्यून छन् । त्यस्ता तथ्याङ्क कुर्ने समय पनि हामीसँग छैन । विश्व उष्णीकरण बढाउनमा हाम्रो कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको दृष्टिले भने नेपाल जोखिमको ठूलो भागिदारी बन्न पुगेको छ । 

३. नेपाल र नेपालीलाई जलवायु परिवर्तनको जोखिमबाट बचाउन र दिगो विकासको सही बाटोमा डो¥याउन हामीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । 

हाम्रो वस्तुस्थिति: 

१. अस्थिर भूगर्भ र पर्वतीय परिवेशको बाहुल्य भएको देश हुनाले नेपालका भिराला पाखा पर्वतमा भूस्खलन लगायतका विभिन्न जोखिमहरू छन् । 

२. जनजीविका तथा राष्ट्रिय अर्थतन्त्रका आधारहरू कृषि, वन, जल सम्पदा लगायत नेपालका सबैजसो प्राकृतिक स्रोत र सम्भावनाहरू जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा पर्ने देखिन्छ । 

३. अस्थिर हिमनदी (glacier) तथा जोखिममूर्ण अवस्थामा रहेका हिमतालहरू विश्व उष्णीकरणको पहिलो प्रहार भित्रै पर्न सक्ने खतरा छ । 

४. अतिवष्टि, अनावृष्टि, हुरी-बतास, बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको पुनरावुत्ति र त्यसबाट हुने क्षतिको चाप बढदै् गएको छ । 

५. अव्यवस्थित तथा असुरक्षित बसोबास, वन तथा कमला पहाड र खोला–खोल्साहरूको बढ्दो विनास एवं अनियन्त्रित दोहन तथा कमजोर र कठिन भूबनोटको संवेदनशीलतालाई ख्याल नगरी अन्धाधुन्द बनाइने सडक, पुल, बाँध, नहर आदि जस्ता पूर्वाधारका संरचनाहरूका कारण देशको प्राकृतिक वातावरण गम्भीर रूपमा विथोलिन थालेको छ । 

६. सरसफाईको कमि, फोहोरमैला एवं प्रदूषण व्यवस्थापन गर्ने अव्यवस्थित प्रणाली, पौष्टिक खुराक एवं पर्याप्त भोजनको अभावका कारण विभिन्न क्षेत्रमा देखा पर्ने रोगव्याधी नियन्त्रण गर्न समेत राज्य समर्थ भइनसकेको अवस्था पनि विद्यमान छ ।

तथ्याङ्कले के भन्छ ? 

१) वातावरण वा जलवायु परिवतन सम्बन्धी अध्ययन–अनुसन्धानका तथ्याङ्कले नपालको तराइ–मधेशमा भन्दा पहाडमा; पहाडमा भन्दा हिमाली भेगमा र हिमालमा भन्दा हिमालपारि (उत्तर) क्षेत्रमा तापमानको वृद्धिदर धेरेै भएको देखाएको छ । ती अध्ययन अनुसार समग्र नेपालको औसत तापमान वृद्धिदर प्रति वर्ष ०.०६ डिगी सेल्सियस रहेको छ भने हिमालभन्दा उत्तर (भोट प्रदेश) मा त्यो वृद्धिदर ०.०९ पुगेको देखिन्छ । 

२) विश्व उष्णीकरण अर्थात् पृथ्वीको तापक्रम वृद्धिको प्रभाव सबैभन्दा पहिले विश्वको हिम भण्डारमा पर्ने देखिएको छ । त्यस अनुसार विश्व उष्णीकरणको पहिलो असर हाम्रा हिमालमा पर्ने स्पष्ट छ । विगत र वर्तमानका आँकडा तुलना गर्दा हाम्रा हिमालबाट हिउँ विलाउन थालिनैसकेको छ । नेपालमा ३२५२ वटा ठूला साना हिमनदी छन् । विगत ५० वर्षयता यस्ता हिमनदीहरूको सिमाना तलबाट माथि सर्दैछ । फलस्वरूप हिमनदीका फेदीमा निर्माण हुने हिमतालहरू झन् झन् ठूला हुने र तिनमा पानीको मात्रा बढ्दै जाने क्रम जारी छ । नेपालका २३१५ हिमतालमध्ये करिब २० वटा हिमतालका प्राकृतिक बाँध फुट्न सक्ने अवस्थामा पुगिसकेको वैज्ञानिक अध्येताहरूको अनुमान छ । 

३) हिमालयलाई एसियाकै प्रमुख जलभण्डार मानिन्छ । जलवायु परिवर्तनले मनसुन वर्षामा पनि प्रभाव पार्छ । त्यस्तो प्रभावको विस्तृत अध्ययन र सही आकलन भइनसकेको भए तापनि नेपालले भोग्नुपरेका जलउत्पन्न प्रकोपका घटनाहरूको मूलकारण मनसुनको अस्वाभाविक वा परिवर्तित चरित्रलाई नै मानिएको छ । अर्थात् नेपाल र नेपाली माथि जलउत्पन्न प्रकोपको जोखिम बढ्दो छ । त्यसैले पनि, नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो जोखिमयुक्त देश हो । हिमनदीहरू वर्षेनि ६० मिटरको दरले खुम्चिँदै छन्, जसले गर्दा हिमतालहरू बन्दै छन् र हिमताल फुटेर बाढी आउने सम्भावना बढेर गएको छ ।

कारण र परिणामबीचको भेद र अन्तरसम्बन्ध 

वातावरणमा हुने वा देखिने परिवर्तनका कारण के हुन्; कारक तत्वहरू कहाँ छन्, तिनका प्रभाव के के हुन् भन्ने जस्ता कुराको निक्र्योल गर्न त्यस्ता प्रश्नलाई दुई विपरित दृष्टिकोणबाट परीक्षण गर्नु उचित हुन्छ । यसो गर्दा हामीले आफूलाई पुराना आग्रह, मान्यता वा विश्वासबाट मुक्त गरी निराग्रही तुल्याउन सक्नुपर्छ । यसरी आफ्नो दिमाग वा चिन्तन–प्रक्रियालाई उन्मुक्त या खुला राखेर सोच्दा वा प्रश्न गर्दा नयाँ तथ्य उजागर हुन आउँछ । अर्थात् हामीले ‘कारण’ मानेको कुरा ‘परिणाम’ र ‘परिणाम’ मान्दै आएको कुरा चाहिँ ‘कारण’ वा कारकतत्वको रूपमा देखा पर्न सक्छ । 

केही उदाहरण हेरौं: 

१) ‘वनमारा झारले वन सखाप गर्यो' भन्ने निक्र्योल गर्नुभन्दा पहिले सोचौं ‘वन मासिनाले वनमारा मौलाएको हो कि वनामारा पसेर वन मासिएको हो यो प्रश्नमा एकछिन घोत्लियौँ भने हामी नयाँ निष्कर्षमा पनि पुग्न सक्छौं ‘वन मासिनाले पो वनमारा मौलाएको रहेछ ।’ 

२) ‘वन जनताका लागि हो’ भन्नासाथ ‘वनको लागि जनता हुन् कि हैनन् भन्ने प्रश्न पनि उठाउनै पर्छ; किनभने ‘वनका लागि जनता (संरक्षक)’ भएनन् भने जनताका लागि वन बाँकी नै नरहन सक्छ । 

३) स्थानीय पर्यावरण बिग्रेका कारण मानिसहरू गाउँ छोडेर अन्यत्र पलायन हुन बाध्य भएका हुन् कि मानिसको पलायन वा बेवास्ताले गर्दा पर्यावरण बिग्रेको हो भन्ने पनि विचार गर्नुपर्छ । पाखा, पर्वतलाई प्रति वर्ष सम्याउँदै र भल काट्दै दिगो भू–स्वरुप बनाइराख्ने नेपाली परम्परागत प्रविधि हो । पर्वतीय स्वरूपलाई एकपल्ट मानवोपयोगी स्वरूपमा ल्याएपछि त्यस ठाउँमा जति मानिसलाई जमिनको खाँचो पर्छ; त्यसभन्दा धेरै जमिनलाई मानिसको खाँचो पर्छ । 

४) नेपालको तराई; भारतको सीमाक्षेत्र तथा बङ्गलादेशका नदीमा बर्सेनि आउने बाढीको कारण पर्वतीय क्षेत्रको वनविनास नै हो भन्ने कुरामा केही मानिस अझै विश्वास गर्दछन् । तर पर्वतीय क्षेत्रमा मानिसको बसोबास न्यून र जताततै घना जङ्गल हुँदा पनि कोशी लगायतका नदीहरूमा सधैँ बाढी आउने गरेको तथ्य भूउपग्रहका नक्सा र अन्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भइसकेको छ । त्यसैले नेपालका नदीमा आउने बाढीको कारण वर्षा र यहाँको प्राकृतिक भूवनोट हो; वन विनास ठूलो वा प्रमुख कारक होइन भन्ने तथ्य पनि बिर्सनुहुँदैन । 

५) जलवायु परिवर्तनले जलीय चक्रमा व्यापक असर पुर्‍याएको छ । सुक्खा याम लम्बिएका छन् भने मनसुनको अवस्थामा फेरबदल आएको छ। जलवायु परिवर्तनले उत्पन्न खडेरी, अनावृष्टि, अतिवृष्टि र खण्डवृष्टिका कारण पनि खासखास क्षेत्रमा पानीको उपलब्धतामा प्रत्यक्ष प्रभाव परिरहेको छ । विभिन्न प्रतिवेदनले औँल्याए अनुसार अन्यतिर भन्दा हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर बढी छ । फलतः उक्त क्षेत्रमा हिउँ पग्लने क्रम पनि बढ्दो छ । यसले पानीको स्रोतमा ह्रास आउनु त छँदै छ, अर्कोतर्फ धेरै हिउँ एकैचोटि पग्लँदा हिमतालले पानी थेग्न नसकी फुट्न सक्छ । यसो भए तल्लो तटीय क्षेत्रमा असंख्य जनधनको नोक्सानी हुन सक्छ । 

अब के गर्ने त ? 

उपयुक्त परिदृश्यलाई उल्ट्याउन अथवा विश्वलाई सुरक्षित भविष्यतिर डोर्याउन पृथ्वीवासीहरूले कार्वन उत्सर्जन (carbon emission) को परिमाण उल्लेखनीय ढङ्गबाट घटाउनु जरुरी देखिन्छ । पृथ्वी र वायुमण्डलको प्राकृतिक सन्तुलनलाई पूर्ववत् अवस्थामा पुर्याउन कार्वनको विश्वव्यापी उत्सर्जनको मात्रालाई सन् १९९० ताका हुने गरेको भन्दा ५० प्रतिशत कमले घटाउनु आवश्यक ठानिएको छ । त्यसका लागि खनिजजन्य ऊर्जाको खपतमा निकै ठूलो कटौती गर्नुपर्ने हुन्छ । वर्तमान भूउपयोगको अवस्थालाई स्थिर राख्न थप वन विनाश हुन दिनुहुँदैन । त्यस्तै कृषि सम्बन्धी क्रियाकलापबाट हुने मिथेन र नाइट्रस अक्साइडको उत्सर्जनलाई पनि उल्लेखनीय मात्रामा घटाउनु पर्दछ । नेपालको सन्दर्भमा वातावरण अथवा पर्यावरणको विषयमा चर्चा गर्दा पर्वत, मनसुन र मान्छेको त्रिपक्षीय अन्तरसम्बन्धलाई बिर्सनु हुँदैन । किनभने तत्सम्बन्धी सत्य, तथ्य र मिथ्या यिनै तीन खेलाडीको खेलभित्र छिपेका हुन्छन् ।

जलवायु परिवर्तनले ल्याउने समस्या समाधानका दुईथरी उपाय छन्- अनुकूलन र न्यूनीकरण । हरितगृह ग्यास उत्सर्जनका स्रोतमा कमी ल्याउने र हरितगृह ग्यास सोस्ने बोटबिरुवाको सङ्ख्यामा वृद्धि गरी वायुमण्डलमा रहेको सो ग्यासको मात्रामा कमी ल्याउने प्रक्रिया न्यूनीकरण हो । जलवायु परिवर्तनबाट उत्पन्न हुने सम्भावित घटनासँग आफ्नोे र समुदायको जीवनयापन सहज बनाउन गरिने परिवर्तन सापेक्ष उपायहरू अनुकूलनको फाँटमा पर्छन् ।

नदीनाला तथा सिमसार क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको जथाभावी उत्खननमा रोक लगाई वैज्ञानिक पद्धति अनुसार संकलन र उत्खनन गर्ने नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । खाली जग्गा तथा पानीको मुहान वरपर वृक्षारोपण गर्नुका साथै भएका वनलाई संरक्षण गर्नुपर्छ, यसले पहिरो र भूक्षयको रोकथाम हुन सक्छ । जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन योजना बनाई पानी लगायत अन्य जलाधारीय स्रोतको स्वच्छता कायम गर्न आवश्यक छ ।  

त्यस्तै, उपभोक्ता समूहमार्फत सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण र सदुपयोग गर्न आवश्यक छ। सामुदायिक वन उपभोक्ता समूहजस्तो हाम्रो आफ्नै मौलिक र सहभागितात्मक समूहबाट पानीको स्रोत संरक्षण, सदुपयोग र वितरण प्रक्रियालाई न्यायोचित बनाउन सकिन्छ । यसका लागि केही सूक्ष्म जलाधारलाई कार्य एकाइका रूपमा लिई सामुदायिक जलउपभोक्ता समूह गठन गरी उक्त स्थानमा रहेको जलस्रोतको एकीकृत व्यवस्थापन गर्न सकिन्छ ।  

वर्षात्को पानी संकलन गरी प्रशोधन गरेर भण्डारण गर्ने र पछि आवश्यक परेका बेला प्रयोग गर्न सकिन्छ । पानीको पुनः प्रयोग गर्ने विधि, जस्तैः भाँडा माझेको पानी संकलन गरेर करेसाबारीमा प्रयोग गर्ने बानीको विकासले पनि पानीको व्यवस्थापन गर्न मद्दत पुग्छ। खानेपानीका विभिन्न आयोजनाको दिगोपनाका लागि उक्त आयोजनाको निश्चित रकमबाट मर्मतसम्भार कोष स्थापना गर्न सकिन्छ । त्यस्तै, आयोजना सञ्चालन तथा मर्मत सम्भारसम्बन्धी कार्यविधि बनाई उपभोक्ता समितिका पदाधिकारीलाई परिचालन गर्नुपर्छ । पानीको शुल्क निर्धारण गर्नाले पनि पानीको प्रयोगलाई नियन्त्रण गर्न मद्दत पुग्छ ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन विषयवस्तुलाई विद्यालय तथा कलेजका पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराइनुपर्छ । यसले सानै उमेरदेखि पारिस्थितिकीय प्रणालीको महत्व र यसको व्यवस्थापन गर्ने तरिकासम्बन्धी व्यावहारिक ज्ञान र सीप बढाउन सक्छ । संघीय, प्रादेशिक र स्थानीय सरकारले पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन सम्बन्धी नीतिनियम, रणनीति तथा कार्ययोजनाको समयसापेक्ष परिष्कृत र कार्यान्वयन गर्दै लैजानुपर्छ । यस्ता नीतिनियम बनाउँदा सम्बद्ध सरोकारवालाको सहभागितालाई यथोचित रूपमा सुनिश्चित गर्न आवश्यक छ । 

व्यवहारिक परिवर्तन

मानिसहरू आदिकालदेखिनै बाढी, पहिरो, भूकम्पजस्ता प्रकोपसित जुध्दै आएका छन् । सयौँ वर्षअगाडि पनि विषम मौसमी घटना भएका थिए । त्यस्ता घटनाले विपद् ल्याएका थिए तर प्रभावित घरपरिवारहरू विभिन्न खाले प्रयास गर्दै तङ्ग्रिएका पनि थिए । मानवजन्य क्रियाकलापले सुरु गरेको जलवायु परिवर्तनसित अनुकूल रहनु भने आजको नयाँ चुनौती हो । परिवर्तनले नयाँ समस्या सिर्जना गर्ने र पुराना चुनौतीलाई झन् कठिन बनाउने भएकाले अनुकूल रहनु जरुरी हुन्छ । प्रश्न हो, नेपाल र नेपालीले जलवायु परिवर्तनसँग अनुकूल रहनु भनेको के हो ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरू, समाजशास्त्री, अर्थशास्त्री, जलवैज्ञानिकहरूले यस अवधारणालाई आ– आफ्नो ढङ्गले परिभाषित गरेका छन् । एउटा परिभाषा हो- जलवायु परिवर्तनबाट सिर्जित अवसरबाट फाइदा लिँदै आफ्नोे दिनचर्यामा व्यवहारिक परिवर्तन ल्याई सम्भावित जोखिमबाट बच्नु जोखिमपूर्ण अवस्थामा रहेका बासिन्दाले प्रतिकूल मौसम वा अवस्थाको प्रतिरोध गर्न सक्ने क्षमताको विकास गर्नु जलवायु परिवर्तनसँग अनुकूल रहनु हो अर्थात् नयाँ चुनौतीको सामना गर्ने प्रतिरोध शक्ति बढोस् । यस्तो चुनौतीसित जुध्न, आपूmले नियमित गर्दै गरेको व्यवहार काम नलाग्न सक्छ, नयाँ तरिका अपनाउनु पर्ने हुन सक्छ । यसरी तरिका फेर्ने निर्णय अनुकूल रहने क्षमता पनि हो । 

एउटा सामान्य उदाहरण दिएर अनुकूल रहने र बेहोर्ने सन्दर्भ स्पष्ट पार्न सकिन्छ । आफ्नो घरमा खाना खान साथीलाई बोलाएको छ भने घरधनीले पाहुनालाई के खुवाउने, कसरी पकाउने ? आदि–इत्यादि विषयमा पहिले नै निर्णय गर्छ । अनुकूलनका लागि योजनाबद्ध तयारी मान्न सकिन्छ यसलाई । तर, खबर नगरी साथी घरमा आइपुग्यो र ‘म आज यही खाना खान्छु ’ भन्यो भने घरधनीले पाहुनालाई ‘होइन, फर्की’ भन्न सक्दैन । घरमा जे-जति उपलब्ध छ, त्यसैलाई जोहो गरी पकाएर तिनले खाना खान्छन् । यो हामिले बेहोरेको उदाहरण हो ।

EbA को अनुकूलन विधि

नेपाल जलवायु परिवर्तन सम्वेदनशीलता सूचकाङ्कका आधारमा चौथो नम्वरमा रहेको छ । यस सम्वेदनशीलताले नेपालका ग्रामीण क्षेत्रका समुदायलाई अझ बढी कठिनाइ तर्फ धकेलेकोछ । जलवायु परिवर्तनको वर्तमान दिशालाई मनन गर्दा नेपालमा जलवायु परिवर्तन अझ विषम भई समुदायमा त्यसको असर झनै बढ्ने देखिन्छ । तसर्थ, समुदाय र पारिस्थितिकीय प्रणालीलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्ने तर्फ मद्दत गर्न तुरुन्त प्रयास थाल्नुपर्ने देखिन्छ । समय बित्दैछ । त्यसकारण यदि हामीले तत्काल आवश्यक पहलको थालनी गरेनौँ भने भोलिका दिनमा यसको चर्काे मूल्य चुकाउनुपर्नेछ एवं यसको परिणाम भयावह हुनेछ ।

अनुकूलन सम्बन्धी प्रयास थालनीका निमित्त जलवायु परिवर्तनबाट उत्पन्न संकटासन्नताको सन्दर्भगत ठोस विश्लेषण आवश्यक पर्न जान्छ ताकि संकटासन्न समूहका सरोकारवालाको आवश्यकता र प्राथमिकतालाई लक्षित गरेर रणनीति अघि बढाउन सकियोस् । जलवायु परिवर्तन सम्बन्धमा राष्ट्रिय अनुकूलन कार्ययोजना अनुरुप नेपालले संकटासन्न समुदाय र पारिस्थितिकीय प्रणालीमा बस्ने समुदाय लगायत व्यापक रुपमा सरोकारवालाहरुबाट प्राप्त अर्थपूर्ण सूचना समेट्ने किसिमका विधि अवलम्वन गरेकोछ । 

अनुकूलन योजना सन्दर्भ र स्थान विशेष हुनुपर्ने भएकाले समुदायस्तरका योजना पहिले निर्माण गर्नुपर्छ र स्थानीय अनुकूलन कार्ययोजनाको आधारभूत संरचनातर्फ प्रवाहित गर्नुपर्छ । यसो गर्दा संकटासन्न वडा, समुदाय र घरपरिवारको पहिचान गर्न सजिलो हुन्छ । स्थानीय कार्यक्रमहरु गाउँ वा नगरपालिकाहरुले तयार गर्ने हुनाले गाउँ तथा नगरपालिका स्तरका योजनामा समुदायस्तरका आवश्यकता र अनुकूलनका विकल्पहरु पहिचान गरि कार्यान्वयन तथा अनुगमन गर्नु पर्दछ । यस विधिले महिला, गरिब तथा सामाजिक रुपमा बहिस्करणमा परेका समूहको आवश्यकतालाई अझ राम्रोसँग सम्बोधन गर्ने सुनिश्चितता प्रदान गर्दछ; सामुदायिक स्वामित्वको सम्बद्र्धन हुन्छ; कार्यान्वयन छरितो, उत्तम र पारदर्शी हुन्छ । यस प्रक्रियाले समुदायहरुलाई आफूले सामना गर्नुपरेका जलवायु सम्बन्धी चुनौतीका बारेमा सुस्पष्टसँग बताउन सक्ने बनाउँछ र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन रणनीतिको पहिचान गर्न एवं प्राथमिकता निर्धारण गर्न सहयोग गर्छ ।

अनुकूलन योजनाको कार्यान्वयन 

स्थानीय विकास योजनासँग अनुकूलनको एकीकरण अनुकूलन योजना कार्यान्वयनले संकटासन्न अवस्था मूल्याङ्कन र अनुकूलन बीचको खाडललाई पूर्णता दिन्छ । प्रमुख सरोकारवालाहरु र स्थानीय नेतृत्वबीच सहभागितालाई योजना प्रक्रियामा संलग्न गर्नु नै अनुकूलन योजनाको सामुदायिक स्वामित्व कार्यान्वयन प्रक्रियाको सुनिश्चितता हो ।

जलवायु परिवर्तनको दीर्घकालीन परिणामलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्नका निमित्त समुदाय र स्थानीय तहका अनुकूलन योजनालाई स्थानीय, क्षेत्रगत र राष्ट्रिय विकास योजनासँग एकीकृत गर्नुपर्छ । स्थानीय विकास योजनासँग अनुकूलनको एकीकरण कार्यका लागि स्थानीय निकाय नै उत्तम प्रवेश मार्ग हुन् ।

जलवायु परिवर्तनलाई मूलप्रवाहमा ल्याउने कार्य

सबैखाले विकास परियोजनाहरु जलवायु परिवर्तनबाट प्रभावित हुन्छन् । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (EbA) आयोजनाले सरोकारवालाहरुलाई जलवायु परिवर्तनका सम्भावित जोखिम र असरको मूल्याङ्कन गर्न, जलवायु परिवर्तनले खडा गरेका चुनौती र कार्यक्रमका अवसरको समीक्षा गर्न अभिप्रेरित गर्दछ । यसले जैविक विविधता संरक्षण र विकास कार्यलाई सन्तुलित ढङ्गमा अघि बढाउन सुनिश्चित गर्दछ । EbA आयोजनाले जलवायु परिवर्तनका मुद्दालाई जिल्ला स्तरका विषयगत निकायसँग काम गरेर मूलप्रवाहका विषयगत योजना प्रक्रियामा ल्याउने प्रयत्न गर्दछ । यस्ता योजनामार्फत स्थानीय समुदायहरूले हिमनदी पग्लिने र पहाडमा नयाँ रोगहरू देखा पर्नेदेखि तराईमा बाढी र उच्च तापक्रमसम्मका जलवायु परिवर्तनका अत्यन्त विविध प्रभावको सामना गर्न सक्छन् ।

अनुकूलनका उपायहरू

जलवायु परिवर्तनसँग अनुकूलन हुनका लागि निम्न बमोजिमका क्रियाकलाप उपयोगी हुन सक्छन्-

  •     बाढी-पहिरो र प्राकृतिक प्रकोपसँग जुध्ने समुदायको क्षमता अभिवृद्धि गर्ने र पूर्वतयारीको अवस्थामा राख्ने; 
  •  
  •     बाढीपहिरो नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्ने; 
  •  
  •     आकाशेपानी सड्ढलन; 
  •  
  •     बायो इन्जिनियरिङ प्रविधिको विस्तार;
  •  
  •     सिँचाइका लागि उन्नत प्रविधिको प्रयोग; 
  •  
  •     बाली लगाउने ढाँचामा परिवर्तन;
  •  
  •     नयाँ रोगसँग प्रतिरोध गर्न सक्ने बालीका जातहरूको प्रयोग;
  •  
  •     जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि; 
  •  
  •     वातावरण र जलवायु परिवर्तनको विषयवस्तु समेटिएको नयाँ पाठ्यक्रमको विकास; 
  •  
  •     सरोकारवाला बीच सहकार्य र समन्वयलाई प्रोत्साहन; र 
  •  
  •     परम्परागत सीप, ज्ञान, प्रविधिको अभिलेख तयार पारी तिनको प्रवद्र्धन, विकास र प्रयोग ।

अबको बाटो 

अध्ययनहरूले नेपालमा तापक्रम दिनानुदिन बढिरहेको देखाएका छन् । यस्तो वृद्धि अन्य क्षेत्रको तुलनामा उच्च हिमाली क्षेत्रमा स्पष्ट देखिन्छ । जलवायु परिवर्तनले जीवनको प्रत्येक पक्षलाई प्रभाव पार्दैछ, जसको असर दीर्घकालसम्म पर्ने देखिन्छ । अबको चुनौती हो, यस्ता परिवर्तनको क्रममा जोखिम बढ्न नदिनु सकारात्मक प्रयासलाई अगाडि लैजानु र कमी-कमजोरी सुधार्नु । यसरी सुधार्ने एउटा बाटो जलवायुसँग सम्बन्धित पर्याप्त वैज्ञानिक तथ्याड्ढहरूको सड्ढलन, विश्लेषण र प्राप्त जानकारीको प्रवाह हो ।

साथै, पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रमबाट समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने बारे व्यापक छलफल र साझा बुझाइ हुनुपर्दछ । दिगो विकास लक्ष्य हासिल गर्न दिगो संरक्षण पूर्वसर्त हुनु आवश्यक भएजस्तै समृद्धिको लागि एउटा सशक्त बाटो हुन सक्छ- फरक यति छ कि हामी कुन बाटो लाग्ने- निःसन्देह प्रकृतिमा आधारित समाधानतर्फ । 

डा. दीपेन्द्र जोशी वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि अभिरुची राख्नुहुन्छ ।

Give Us Feedback